काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । भृकुटीमण्डपमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
विशेष महाधिवेशनको बन्दसत्रले बहुमतका आधारमा तय गरेको नेतृत्वलाई अन्ततः सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । यससँगै पार्टीको बागडोर युवा नेता गगन थापाको काँधमा आएको छ ।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । पार्टी संगठनको महत्त्वपूर्ण मानिने महामन्त्री पदमा पनि युवा अनुहार नै अगाडि आएका छन् । महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको छ ।
महाधिवेशनले समावेशी सिद्धान्तअनुसार आठजना सहमहामन्त्रीसमेत सर्वसम्मत चयन गरेको छ । जसमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा रहेका छन् ।
यस्तै, खसआर्यतर्फ उदयशमशेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ योगेन्द्र चौधरीले सहमहामन्त्रीको जिम्मेवारी पाएका छन् । पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन् ।























