काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
शाहले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभवले उनलाई धेरै कुरा सिकाएको उल्लेख गरेका छन्।
उनी आगामी फागुन २१ गते झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेको र राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने उद्घोष गरेका छन्।
२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन् ।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका हुन् ।

बालेनले २०७२ सालको विनाशकारी भूकम्पपछि आफूले एक सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गरेका छन्। गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दाको अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनको भनाइ छ।

 

‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ शाहले भनेका छन्, ‘भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै लैजानुपर्छ।’

सोही बुझाइका साथ आफू भारत गएर ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर देश फर्किएको उनले उल्लेख गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेमा आम जनताको सुविधाका लागि धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको जिकिर गरेका छन् । महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत गरेका छन् ।

बालेनले आफ्नो आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’

उनले अब देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराको सट्टा जनताको विश्वास जित्ने शासन व्यवस्था र इमानदार नेतृत्व चाहिएको बताए।

पछिल्लो समय झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई बल पुग्ने गरी उनले ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको’ उल्लेख गरेका छन्। उनले यस अभियानलाई कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियानका रूपमा चित्रण गरेका छन् ।

के भने बालेनले ?

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ।

काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।

नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो—

नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।

भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ।

राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।

आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।

नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो।

संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।

स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ-

देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।

अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।

हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।

नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ।

संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।

यो अभियान कुनै एक व्यक्तिको होइन।

यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।

सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय