उर्लाबारी । मोरङको उर्लाबारीका युवा फुटबल खेलाडी सनम विकको जीवन बचाउन यतिबेला स्थानीयस्तरमा अभूतपूर्व मानवीय अभियान सञ्चालन भइरहेको छ । गम्भीर बोनम्यारोसम्बन्धी रोगसँग जुधिरहेका विकको उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन सर्वसाधारण आफैं सडकमा उत्रिएर पानी बेच्न थालेका छन् ।
बुधबारदेखि उर्लाबारी–८ र ९ को दुर्गापुरी बजारबाट सुरु भएको “सनम विक बचाउ अभियान” अन्तर्गत पानी बिक्री कार्यक्रमले स्थानीय समुदायको मन छोएको छ । अभियानअन्तर्गत बिहीबार र शुक्रबार उर्लाबारी चोक तथा शनिबार उर्लाबारी–३ चन्दनेमा पानी बिक्री गर्दै सहयोग संकलन गरिने संयोजक सुसन लिम्बूले जानकारी दिनुभयो ।
सानो सहयोगले ठूलो जीवन बचाउन सकिन्छ भन्ने उदाहरण बनेको यो अभियानमा युवादेखि वृद्धसम्मको सक्रिय सहभागिता देखिन्छ । कसैले पानी किनेर साथ दिएका छन् भने कसैले स्वेच्छिक रूपमा अभियानमा खटिएर श्रमदान गरिरहेका छन् । यसअघि अभियान टोलीले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरी केही रकम संकलन गरिसकेको छ । साथै विभिन्न सहयोगी मनहरूबाट हालसम्म करिब १८ लाख रुपैयाँ जुटिसकेको सदस्य राजिब लिम्बूले बताउनुभयो । तर, उपचारका लागि आवश्यक रकम अझै अपुग रहेकोले अभियानलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको छ ।
उर्लाबारी–३ मंगलबारे निवासी विक एक उदयमान फुटबल खेलाडी हुन्, जसले आफ्नो प्रतिभाले भविष्यमा देशको नाम उज्यालो पार्ने सपना बोकेका थिए । तर, अहिले उनी जीवन र मृत्युको संघर्षमा छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि स्थानीयवासीले “आफ्नो मान्छे” बचाउन एकजुट भएर अभियान चलाएका हुन् । यो अभियानले एउटा सन्देश दिएको छ—मानवता अझै जीवित छ । सानो सहयोग, सानो प्रयास र सानो संवेदनशीलताले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ ।
सनम विकको जीवन बचाउनका लागि सबैलाई सहयोग गर्न अभियानकर्ताहरूले हार्दिक अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय