उर्लाबारी । मोरङको उर्लाबारीमा राजनीतिक तरंग ल्याउने घटनाक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र धिमालले पार्टी परित्याग गर्नुभएको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत उहाँले सार्वजनिक रूपमा क्रियाशील सदस्यता च्यात्दै नेपाली कांग्रेस सँगको आफ्नो लामो सम्बन्ध अन्त्य भएको घोषणा गर्नुभएको हो । धिमालले अब स्वतन्त्र नागरिकका रूपमा जीवन बिताउने घोषणा गर्नुभयो । उर्लाबारी–६ निवासी धिमाल स्थानीयस्तरमा ‘ड्राइभर’ उपनामले परिचित हुनुहुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्यसमेत रहनुभएका धिमाल उर्लाबारी नगर विकास समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ । गत चैत २८ गते सम्पन्न उर्लाबारी खानेपानी संस्थाको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहनुभएका धिमालले स्वास्थ्य अवस्थाका कारण पार्टी छोडेको बताउनुभएको छ । उहाँको यो कदमले स्थानीय राजनीति मात्र होइन, समग्र पार्टी संरचनामै प्रश्न उठाएको छ । लामो समयदेखि पार्टीमा जरा गाडेका नेता नै असन्तुष्ट भएर बाहिरिन थालेपछि नेपाली कांग्रेस भित्रको आन्तरिक संकट झन् चुलिँदै गएको संकेत देखिएको छ ।























