उर्लाबारी । मोरङको पथरीशनिश्चरे–४ स्थित कुलबहादुर बस्नेत र विन्दुकुमारी बस्नेतको परिवारलाई नेपाल बौद्ध गुम्बाले सम्मान गरेको छ ।
शुक्रबार बस्नेत परिवारकै निवासमा पुगेर पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापो र गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले सम्मानपत्रसहित उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
बस्नेत परिवारका धर्मछोरा मानबहादुर तामाङको निधनपछि उहाँको हकभोगमा रहेको१ विघा जग्गा नेपाल बौद्ध गुम्बालाई हस्तान्तरण गरिएको थियो। । सोही उदार कार्यको कदर गर्दै गुम्बाले परिवारलाई घरमै पुगेर सम्मान गरेको हो । धर्मबुवा कुलबहादुर बस्नेतका अनुसार, तामाङले जीवित अवस्थामै उक्त जग्गा गुम्बालाई दिने इच्छा व्यक्त गर्नुभएको थियो, जसअनुसार परिवारले उक्त निर्णयलाई सम्मान गर्दै हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्वापोले समाजका लागि उदाहरणीय कार्य गरेको भन्दै बस्नेत परिवारको प्रशंसा गर्नुभयो । “यस्तो मानवीय र समाजसेवी कार्यले समाजमा सकारात्मक सन्देश दिन्छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको यो योगदान प्रेरणादायी छ ।”
त्यसैगरी, गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले बस्नेत परिवारप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “मानबहादुर तामाङको इच्छा र बस्नेत परिवारको सहकार्यले गुम्बाको विकासमा ठूलो सहयोग पुगेको छ । यसले धार्मिक तथा सामाजिक कार्यलाई थप टेवा पुग्नेछ ।” कार्यक्रममा गुम्बाका संस्थापक कृतिमान तामाङ, सचिव कुमारबहादुर लामा तामाङ, कोषाध्यक्ष शान्तिमाया तामाङ, सदस्य विष्णुकुमार तामाङ, रामप्यारी तामाङलगायतको उपस्थिति रहेको थियो ।























