मोरङ । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेसँग स्थानीय व्यवसायीहरुले आफ्ना समस्या र सुझाव राखेका छन् ।
सोमबार उर्लाबारी उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममासंघका अध्यक्ष तारामान सिरिङले व्यवसायीहरु दैनिक भोगिरहेका चुनौतीहरु प्रस्तुत गर्नुभयो । अध्यक्ष सिरिङले बढ्दो करको भार, बजारमा घट्दो क्रयशक्ति, बैंकको उच्च ब्याजदर तथा अनियमित बजार व्यवस्थापनका कारण व्यवसायीहरु समस्यामा परेको उल्लेख गर्नुभयो । “राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै व्यवहारिक बन्न सकेको छैन,” उहाँले भन्नुभयो, “नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण नगरी आर्थिक चलायमानता सम्भव छैन ।”
कार्यक्रममा सांसद यज्ञमणि न्यौपानेले आफू पार्टीभन्दा माथि उठेर जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मोरङ क्षेत्र नं. १ का नागरिकको अपेक्षा र आवश्यकता नै मेरो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर ठोस पहल गर्नेछु ।” उहाँले निजी क्षेत्र सशक्त भए मात्रै समग्र अर्थतन्त्र मजबुत बन्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका महासचिव सम्झना खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा सांसद न्यौपानेलाई नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको रुपमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।























