उर्लाबारी, १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उर्लाबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान आयोजित सो रक्तदानमा ८ जना महिला र २६ जना पुरुषसहित जम्मा ३४ जनाले रक्तदान गरेका छन् ।
उर्लाबारी नगरपालिका–७ स्थित बरगाछीमा सञ्चालित उक्त कार्यक्रम सञ्चार क्लब नेपाल, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ र नगर आप्रवासी श्रमिक सञ्जालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको प्राविधिक सहयोग रहेको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले श्रमिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन् । उनले श्रमिकहरूलाई संगठित भएर आफ्नो आवाज सशक्त रूपमा उठाउन आग्रह गरेकी छिन् ।
स्वतन्त्र निर्माण व्यवसायी मजदुर उर्लाबारीका अध्यक्ष भागिराज खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर आप्रवासी श्रमिक सञ्जालका अध्यक्ष सन्तोष दाहालले स्वागत मन्तव्य राखेका थिए ।
रक्तदान कार्यक्रमपछि मजदुरका हकहितको सुरक्षा लगायतका माग समेटिएका प्लेकार्डसहितको र्‍यालीले बजार क्षेत्र परिक्रमा गरेको मजदुर संघका उपाध्यक्ष पशुपति श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रमको संचालन सञ्चार क्लव नेपालका अध्यक्ष घनश्याम भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय