उर्लाबारी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।
मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले नेपालमा श्रमको सम्मान हुन नसक्दा विकासको गति सुस्त बनेको बताए।
उनले काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत सामाजिक सोचका कारण देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे ।
देश नबन्नुको मुख्य कारण कामको अभाव होइन, कामप्रतिको दृष्टिकोण हो,उनले भने, हामीकहाँ श्रम गर्ने मानिसलाई तल्लो दृष्टिले हेर्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ । यही संस्कार परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन ।
अध्यक्ष साम्पाङले नेपालका अधिकांश राजनीतिक दल विकासका नाममा भाषण र आश्वासन वितरणमै सीमित भएको आरोप लगाए । उनले विकासका ठूला सपना देखाउने तर व्यवहारमा काम नगर्ने राजनीतिक संस्कृतिका कारण जनतामा निराशा बढेको उल्लेख गरे।
वर्षौँदेखि विकासका नारा सुनिरहेका छौँ । तर विकास कहाँ छ ? सडक, खानेपानी, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ,उनले भने, हाम्रो पार्टीले गफ होइन, श्रमलाई प्राथमिकता दिएको छ । हामीले जे भन्छौँ, त्यो व्यवहारमा पनि देखाउने प्रयास गरिरहेका छौँ ।
उनले श्रम संस्कृति पार्टीको मूल दर्शन नै श्रमको सम्मान र उत्पादनमुखी समाज निर्माण रहेको स्पष्ट पारे । समाजको हरेक नागरिक कुनै न कुनै उत्पादनशील कार्यमा संलग्न हुनुपर्ने उहाँको धारणा थियो । कृषिदेखि उद्योग, निर्माणदेखि वातावरण संरक्षणसम्मका क्षेत्रमा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनले बताए।
कार्यक्रममा अध्यक्ष साम्पाङले देशमा बढ्दो बेरोजगारी र युवापलायनप्रति पनि चिन्ता व्यक्त गरे । नेपालका लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य हुनु दुःखद् अवस्था भएको उल्लेख गर्दै उनले देशभित्रै उत्पादन र उद्यमका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
हाम्रा गाउँ र खेतबारी खाली हुँदै गएका छन् । युवा विदेश गइरहेका छन् । श्रम गर्ने हात विदेश पुगेपछि देश कसरी बन्छ ? उनले प्रश्न गरे, यदि हामीले आफ्नै भूमि, पानी, जंगल र स्रोतसाधनको सदुपयोग गर्न सक्यौँ भने यहीँ अवसर सिर्जना गर्न सकिन्छ ।
उनले युवाहरूलाई श्रमप्रति सकारात्मक सोच बनाउन आग्रह गर्दै कामलाई सानो वा ठूलो भनेर विभाजन नगर्नुपर्ने बताए । कुनै पनि इमानदार श्रम सम्मानयोग्य हुने उनको भनाइ थियो ।
अध्यक्ष साम्पाङले विदेशी सहायता, ऋण र अनुदानमा निर्भर भएर दिगो विकास सम्भव नरहेको धारणा पनि राखेका थिए। नेपालसँग प्रशस्त प्राकृतिक स्रोत, श्रमशक्ति र सम्भावना रहेको उल्लेख गर्दै ती स्रोतको सही उपयोग गर्न सके देशलाई आत्मनिर्भर बनाउन सकिने बताए ।
विदेशी आएर हाम्रो देश बनाइदिँदैनन्,उनले भने, आफ्नो देश आफैँले बनाउने हो । त्यसका लागि सबैभन्दा ठूलो पूँजी भनेको हाम्रो श्रम हो ।
उनले श्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उत्पादन, उद्यमशीलता र आत्मनिर्भरताको संस्कृतिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्ने धारणा व्यक्त गरे। श्रमको सम्मान गर्ने समाज निर्माण गर्न सके बेरोजगारी, गरिबी र परनिर्भरताजस्ता समस्याहरू क्रमशः समाधान हुँदै जानेछ, उनले भने ।
भेटघाट कार्यक्रममा सहभागी स्थानीयवासीले श्रम संस्कृति पार्टीका नीति तथा कार्यक्रमबारे जिज्ञासा राखेका थिए । सो अवसरमा अध्यक्ष साम्पाङले पार्टीको आगामी योजना, श्रम अभियान र संगठन विस्तारका विषयमा जानकारी गराएका थिए ।
उनले अन्त्यमा देश परिवर्तनका लागि सरकार वा नेतामात्रै होइन, प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने बताउँदै सबैलाई श्रममा जोडिन आग्रह गरे । देश बदल्ने शक्ति जनताकै हातमा छ,उनले भने, गफले होइन, श्रमले मात्रै मुलुक बन्छ ।
कार्यक्रममा १०० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेको र नवप्रवेशीलाई केन्द्रिय अध्यक्ष साम्पाङले स्वागत गरेको पार्टीका उर्लाबारी नगर उपाध्यक्ष रबि मादेनले जानकारी दिए ।
कार्यक्रम पार्टीका उर्लाबारी अध्यक्ष चन्द्र धिमालको सभापतित्वमा भएको थियो ।























