मोरङ । आफ्नै मौलिक संस्कृति र घुमन्ते जीवनशैलीका कारण परिचित पश्चिम नेपालका राउटे समुदाय पूर्वी नेपाल भ्रमणपछि फर्किएका छन् । कर्णाली प्रदेशको सुर्खेतबाट आएका १९ जना राउटे शनिबार फर्किएका हुन् ।
नेपालकै लोपोन्मुख फिरन्ते जातिका रूपमा चिनिने राउटेहरू मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित नेसेलुङ पर्यटकीय क्षेत्रमा जेठ २ गतेदेखि ९ गतेसम्म आयोजित महोत्सवमा विशेष आकर्षण बनेका थिए ।
नेपालमै ‘उल्टो घर’ रहेको स्थानका रूपमा चर्चित नेसेलुङ फनपार्कमा पाहुनाका रूपमा बसेका राउटेहरूलाई हेर्न तथा उनीहरूको जीवनशैली बुझ्न दैनिक सयौं दर्शक पुगेका थिए । महोत्सव अवधिभर राउटेहरूले आफ्नो मौलिक संस्कृति, रहनसहन र परम्परागत सीप प्रदर्शन गरेका थिए । त्यसैगरी, उनीहरूले काठबाट निर्माण गरेका परम्परागत भाँडाकुँडा तथा सामग्रीहरू बिक्रीसमेत गरेका थिए । राउटे समुदायले प्रयोग गर्ने काठका सामानप्रति दर्शकको आकर्षण देखिएको आयोजकले जनाएको छ ।
नेसेलुङ पर्यटन समिति, याक्थुम भिलेज प्रालिलगायतको आयोजनामा सम्पन्न महोत्सवले पूर्वी नेपालमा राउटे संस्कृतिको परिचय गराउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय