तस्बीर फाइल
विराटनगर । मोरङको मिक्लाजुङमा रहेको देवीथान कङ्क्रिट उद्योगले अनुमति बिना क्रसिङ गरेको पाइएपछि सिल गरिएको छ ।
वैशाख २३ गतेको स्थलगत अनुगमनका क्रममा उद्देश्य विपरीत कार्य गरेको पाइएपछि त्यसलाई सिल गरेको जिल्ला समन्वय अधिकारी न्यौपानेले बताउनुभयो । उद्योगसँग अनिवार्य हुनुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खनन गरिरहेको भेटिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता नभए पनि ढुंगागिटी प्रालिको नाममा बिल काटेर बिक्री गरेको थियो । यो उद्योगले पनि वासिङको मात्रै अनुमति लिएको थियो । बालुवा प्रसोधन, ह्युमपाइप निर्माण, विजुलीको पोल निर्माण, कंक्रिट इटा बनाउने अनुमति लिएको उद्योगले ढुंगागिटी उत्खनन गरेको भेटिएपछि बन्द गरेको हो । त्यस्तै, जिल्ला अनुगमन समितिले मोरङको लोहन्द्रा खोलाको ग्रामथान क्षेत्रमा गिटी बालुवा उत्खननका लागि मेसिन प्रयोगमा रोक लगाएको छ । त्यस्तै, मोरङको लेटाङमा रहेको महाभगवती क्रसिङ प्रालि दर्ता विना सञ्चालनमा रहेको पाइएपछि सो उद्योग बन्द गराइएको छ । त्यस्तै, बेलबारीमा रहेको कान्तिपुर वासिङ प्रालि नामको क्रसर उद्योगलाई ५० हजार जरिवाना गरिएको छ । कर छली गरेको भेटिएपछि अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पनि पठाइएको छ ।























