सरोज बस्नेत
बक्राहा विष्णु गंगा घाट लामो समयदेखि सञ्चालनमा आउन नसक्दा उर्लाबारी क्षेत्रका नागरिकले शवदाहका लागि ठूलो सास्ती व्यहोर्नु परेको छ । धार्मिक, सामाजिक तथा मानवीय दृष्टिले अत्यन्त संवेदनशील मानिने घाट निर्माण सम्पन्न हुँदासमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु सम्बन्धित निकायको गम्भीर लापरबाहीको विषय बनेको छ । शोकमा रहेका परिवारले अन्तिम संस्कार जस्तो पीडादायी क्षणमा समेत दुःख र अव्यवस्था भोग्नुपर्नु सभ्य समाजका लागि राम्रो संकेत होइन ।
उर्लाबारी–४ मा निर्माण गरिएको बक्राहा विष्णु गंगा घाटमा शवदाह स्थल, विश्रामस्थललगायतका केही पूर्वाधार तयार भएपनि आवश्यक व्यवस्थापन र सञ्चालनको अभावमा त्यसको उद्देश्य पूरा हुन सकेको छैन । परिणामस्वरूप अहिले पनि कतिपय नागरिकले खोला किनारमै जथाभाबी शवदाह गर्न बाध्य हुनुपरेको अवस्था छ । यसले वातावरणीय असर मात्र होइन, धार्मिक मर्यादा र सार्वजनिक स्वास्थ्यमा समेत प्रश्न उठाएको छ । विशेषगरी वर्षायाममा बक्राहा खोलामा आउने बाढी, हिलाम्मे बाटो र असुरक्षित वातावरणका कारण शवदाह कार्य झन् कष्टकर बन्ने गरेको स्थानीयको गुनासो छ । यस्तो संवेदनशील विषयमा सम्बन्धित निकाय मौन बस्नु गैरजिम्मेवारीपूर्ण मात्र होइन, नागरिकको पीडाप्रति उदासीन व्यवहार पनि हो । विकासका ठूला योजना र आकर्षक नाराभन्दा नागरिकको आधारभूत आवश्यकता र मानवीय संवेदनालाई प्राथमिकता दिनु आजको आवश्यकता हो ।
स्थानीय सरकार, जनप्रतिनिधि तथा सरोकारवाला निकायले अब ढिलासुस्ती नगरी बक्राहा विष्णु गंगा घाट सञ्चालनमा ल्याउन तत्काल पहल गर्नुपर्छ । आवश्यक जनशक्ति व्यवस्थापन, नियमित सरसफाइ, सुरक्षित पहुँच मार्ग र थप पूर्वाधार निर्माण गरी घाटलाई व्यवस्थित बनाउन सके स्थानीयवासीले ठूलो राहत महसुस गर्नेछन् । नागरिकको दुःखसँग प्रत्यक्ष जोडिएको यस्तो विषयमा अब बहाना होइन, काम चाहिएको छ । बक्राहा विष्णु गंगा घाट तत्काल सञ्चालनमा ल्याइनु आज उर्लाबारीवासीको साझा माग बनेको छ । यसमा सम्बन्धित निकायको गम्भिर ध्यान जाओस् ।























