उर्लाबारी । नेपाली कांग्रेसका नेता भानुभक्त शर्मा पराजुलीले पार्टी परित्याग गर्दै स्वतन्त्र राजनीतिक यात्राको घोषणा गर्नुभएको छ ।
उर्लाबारी–७ स्थित सञ्चार क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आउनुभएका पराजुलीले स्वतन्त्र राजनीतिक धार समातेको घोषणा गर्दै आगामी उर्लाबारी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने संकेतसमेत गर्नुभएको छ ।
२०३८ सालदेखि नेपाली कांग्रेसको साधारण सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका पराजुलीले २०५८ सालमा क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्दै उहाँले २०६४ सालमा गाउँ सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो भने २०६८ सालमा नेपाली कांग्रेस मोरङ संगठन विभागमा समेत सक्रिय भूमिका खेल्नुभएको थियो ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित हुनुभएका पराजुली स्थानीय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । वडाध्यक्षका रूपमा उहाँले विकास निर्माण, सामाजिक गतिविधि तथा जनसरोकारका विषयमा सक्रियता देखाउनुभएको थियो । लामो समय पार्टीमा योगदान गरे पनि पछिल्लो समय पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्व शैली र कार्यकर्ताको भावनाको उचित मूल्यांकन नभएको निष्कर्षसहित आफूले स्वतन्त्र राजनीतिक यात्रा रोजेको उहाँको भनाइ छ । स्वतन्त्र मेयरको उम्मेदवारी घोषणा गर्दै पराजुलीले उर्लाबारीको समग्र विकास, पारदर्शी प्रशासन र जनतामुखी नेतृत्वका लागि आफू अगाडि बढेको बताउनुभयो । उहाँले अब कुनै दलको घेराभन्दा माथि उठेर सम्पूर्ण नगरवासीको साझा प्रतिनिधिका रूपमा काम गर्ने दाबी गर्नुभएको छ । पराजुलीको यो घोषणासँगै उर्लाबारीको स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । उहाँलाई समर्थन गर्दै नेपाली कांग्रेस परित्याग गर्ने क्रियाशील सदस्यहरूको संख्या पनि बढ्न थालेको छ । उर्लाबारी–३ का प्रदीप दाहाल, रेसु कटुवाल, निरज कार्की, घनश्याम थापा र रमेश भट्टराईले पराजुलीको समर्थनमा कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । त्यसैगरी उर्लाबारी–५ का युवराज आचार्य ‘बद्री’ ले पनि स्वतन्त्र अभियानमा साथ दिने बताउनुभएको छ ।

यस्तै, अन्य राजनीतिक दलका केही स्थानीय नेताहरूले समेत पराजुलीलाई समर्थन जनाएका छन् । राप्रपाका जनक खड्का, वेदप्रकाश शिवाकोटी र राजन कार्कीलगायतले स्वतन्त्र अभियानमा सहकार्य गर्ने जनाउनुभएको छ । उहाँहरुले समेत पार्टी परित्याग गरिसक्नुभएको छ । पराजुलीको स्वतन्त्र राजनीतिक यात्राले आगामी स्थानीय निर्वाचनमा उर्लाबारीको राजनीतिक समीकरणलाई नयाँ मोड दिने अनुमान गरिएको छ । विशेषगरी परम्परागत दलप्रति जनतामा बढ्दो असन्तुष्टि र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणका बीच उहाँको अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नगरभरी नै स्वतन्त्र अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय