उर्लाबारी । उर्लाबारी–७ मा रहेको डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ४१ प्रिन्ट रगत संकलन गरिएको कलेजले जनाएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो । कलेजका संस्थापक साजन श्रेष्ठले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षासँगै समाजप्रतिको दायित्व पूरा गर्नु पनि संस्थाको प्रमुख जिम्मेवारी हो । एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूको आकर्षण बन्दै गएको यस कलेजले छोटो समयमै उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षाका कारण विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएको छ । आठ वर्षअघि केवल ३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा हाल २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । झापा, मोरङ, इलाम र सुनसरीलगायत जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । संस्थापक श्रेष्ठका अनुसार कलेजबाट हालसम्म ८ सयभन्दा बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । यहाँबाट अध्ययन गरेका धेरै विद्यार्थी विभिन्न देशमा पुगेर राम्रो आम्दानीसहित पेशागत सफलता हासिल गरिरहेका छन् । कलेजले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिँदै आएको छ । होटल म्यानेजमेन्टका आधारभूत प्राक्टिकलसँगै बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार तथा व्यक्तित्व विकाससम्बन्धी अतिरिक्त कक्षासमेत सञ्चालन गरिँदै आएको कलेजले जनाएको छ । विद्यार्थीको सहजताका लागि यातायात सुविधा पनि उपलब्ध गराइएको छ ।























