संगीता राई, पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका मा रहेको रेडस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालय छोटो समयमै उत्कृष्ट शैक्षिक संस्था रूपमा स्थापित हुन सफल भएको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, आधुनिक शिक्षण पद्धति र निरन्तर उत्कृष्ट नतिजाका कारण रेडस्टार अहिले विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो ।विद्यालयले शैक्षिक क्षेत्रमा मात्र होइन, अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, अन्तर्राष्ट्रिय परियोजना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । यही कारण रेडस्टारले स्थानीय तह मात्र होइन, प्रदेश र राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विद्यालयले एसईई र कक्षा १२ को परीक्षामा लगातार उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । पछिल्लो समय सार्वजनिक कक्षा १२ को परीक्षा २०८२ को नतिजाले विद्यालयलाई झनै चर्चाको केन्द्रमा ल्याएको छ । विद्यालयका विद्यार्थी चन्दन साह र प्रविण कट्टेलले ३.९६ जिपिए ल्याउँदै नेपालभर नै प्रथम स्थान हासिल गरेका थिए । उनीहरूको सफलताले रेडस्टारको शैक्षिक गुणस्तरलाई राष्ट्रिय स्तरमै प्रमाणित गरेको छ ।
विद्यालय प्रशासनका अनुसार रेडस्टारले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीहरू केवल परीक्षामा मात्र अब्बल छैनन्, उनीहरू व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वमा समेत सक्षम बन्दै गएका छन् । विद्यालयले विद्यार्थीको क्षमता पहिचान गरी सोही अनुसार मार्गदर्शन गर्ने भएकाले उत्कृष्ट परिणाम सम्भव भएको विद्यालयको दाबी छ ।
रेडस्टारले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । विद्यालयले विद्यार्थीहरूसँग सम्बन्धित विभिन्न परियोजना निर्माण गरी सफलतापूर्वक सञ्चालन गरेपछि ब्रिटिश काउन्सिल बाट ‘२०२१–२०२४ प्रथम फुल इन्टरनेशनल स्कूल अवार्ड’ प्राप्त गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै रेडस्टार पूर्वी मोरङमा अन्तर्राष्ट्रिय विद्यालय अवार्ड पाउने पहिलो विद्यालय बनेको हो ।
विद्यालयले वातावरण संरक्षण, सामाजिक सचेतना, प्रविधिमैत्री शिक्षा, सांस्कृतिक आदानप्रदान तथा विद्यार्थी केन्द्रित परियोजनालाई विशेष प्राथमिकता दिएको थियो । ती परियोजनाहरूले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि ब्रिटिश काउन्सिलले विद्यालयलाई सम्मानित गरेको विद्यालय प्रशासनले जनाएको छ ।
हाल विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको संख्या १ हजार ७ सयभन्दा बढी रहेको छ । विद्यार्थीको बढ्दो आकर्षणले विद्यालयप्रतिको विश्वासलाई स्पष्ट पार्ने अभिभावकहरू बताउँछन् । विद्यालयमा अनुभवी शिक्षक, आधुनिक कक्षाकोठा, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, खेल मैदान र विद्यार्थीमैत्री वातावरण रहेको छ । विद्यालयले शिक्षासँगै खेलकुद, गीत–संगीत, नृत्य, वक्तृत्वकला, चित्रकला लगायत अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको छ । विभिन्न जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा रेडस्टारका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार जित्दै आएका छन् । विद्यालयको उद्देश्य केवल किताबी ज्ञान दिने नभई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक उत्पादन गर्नु रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल टिएन तिम्सिनाले रेडस्टारको सफलताको मुख्य आधार मेहनती विद्यार्थी, समर्पित शिक्षक र विश्वास गर्ने अभिभावक भएको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आधुनिक प्रविधिसँग जोडिएको शिक्षण प्रणाली अपनाएको जानकारी दिनुभयो । प्रिन्सिपल तिम्सिनाले भन्नुभयो, “हामी विद्यार्थीलाई केवल परीक्षामा राम्रो अंक ल्याउने बनाउने होइन, जीवनमा सफल र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं । विद्यार्थीको क्षमता पहिचान गरेर त्यसलाई सही दिशामा विकास गर्न विद्यालय सधैं प्रतिबद्ध छ ।”
उहाँका अनुसार विद्यालयले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यसहित विभिन्न नवीन कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक र अनुसन्धानमुखी शिक्षा प्रदान गर्न विशेष जोड दिइएको उहाँको भनाइ छ । “आजको शिक्षा केवल किताबमा सीमित हुनुहुँदैन । विद्यार्थीले समाज, प्रविधि र विश्वलाई बुझ्न सक्नुपर्छ । त्यसैले हामीले परियोजनामूलक शिक्षा, प्रविधिमैत्री सिकाइ र अतिरिक्त क्रियाकलापलाई जोड दिएका छौं,” तिम्सिनाले भन्नुभयो ।
विद्यालयले विद्यार्थीलाई अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वको पाठ पनि सिकाउँदै आएको छ । यही कारण रेडस्टारबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफल बन्दै गएको विद्यालयको दाबी छ । अभिभावकहरूका अनुसार रेडस्टारले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । सुरक्षित वातावरण, नियमित निगरानी, गुणस्तरीय शिक्षा र अतिरिक्त गतिविधिका कारण विद्यालयप्रति विश्वास बढ्दो रहेको उनीहरू बताउँछन् । शिक्षा क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला छोटो समयमै उत्कृष्ट पहिचान बनाउन सफल रेडस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालय अहिले पूर्वी नेपालकै नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ । अन्तर्राष्ट्रिय अवार्ड, राष्ट्रिय स्तरको उत्कृष्ट नतिजा र विद्यार्थीमैत्री वातावरणका कारण रेडस्टारले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।























