मिक्लाजुङ गाउँपालिका–३ निवासी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लक्ष्मीप्रसाद पौडेल (आनन्द) को परिवारले परम्परागत समवेदना व्यक्त गर्ने शैलीमा परिवर्तन गर्न आग्रह गरेको छ । परिवारले शुभेच्छुक तथा शुभचिन्तकलाई लामालामा समवेदना पत्र नल्याई श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न अनुरोध गरेको हो ।
परिवारमाथि परेको पीडालाई झन् गहिरो बनाउने गरी समवेदना पत्र वाचन गर्ने परम्परागत शैली उपयुक्त नभएको जनाउँदै पौडेल परिवारले यस्तो आग्रह गरेको जनाएको छ । स्थानीय सविन घिमिरेका अनुसार कतिपय अवस्थामा समवेदना पत्र पढ्नासाथ परिवारजन भावविह्वल हुने गरेका छन् भने सीसाको फ्रेममा सजाइएका पत्र राख्ने ठाउँसमेत अभाव हुने गरेको छ ।
७० वर्षीय पौडेल मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका उहाँ देशको राजनीतिक परिवर्तनपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभएको थियो । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत उहाँले महत्वपूर्ण कमाण्ड सम्हाल्नुभएको नेपाली कम्युनिष्ट पार्टीका नेता कुशल लिम्बूले बताउनुभयो । उहाँको जेठ ११ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । परिवारले अहिले आफूहरू गहिरो शोकमा रहेको उल्लेख गर्दै समवेदना पत्रसहित उपस्थित हुने र सार्वजनिक रूपमा वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ । स्वर्गीय पौडेलका छोराहरू दिनेश, मदन र विनोद पौडेल तथा छोरी सिर्जना पौडेल हुनुहुन्छ । जेठा छोरा दिनेश मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय