उर्लाबारी । उर्लाबारी नगरपालिका र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको दुईदिने अनलाइन बिजनेस प्रमोशन तालिम शनिबारदेखि सुरु भएको छ ।
उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्दै उपप्रमुख पौडेलले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत स्थानीय व्यवसायको पहुँच विस्तार, बजारीकरण तथा उद्यमशीलताको विकास गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समयअनुसार व्यवसायलाई डिजिटल माध्यमसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सहभागीहरूले व्यावहारिक ज्ञान र सीप हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय व्यवसायी, उद्यमी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेरिङले वर्तमान समयमा व्यवसायलाई प्रतिस्पर्धी बनाउन डिजिटल मार्केटिङ र अनलाइन प्रवद्र्धन अपरिहार्य बन्दै गएको बताउनुभयो । उहाँले तालिमले व्यवसायीहरूलाई नयाँ प्रविधिको उपयोग गर्दै आफ्ना उत्पादन तथा सेवाको बजार विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघका सदस्य केशब भट्टराईका अनुसार तालिममा ४० जना सहभागी रहेका छन् । तालिममार्फत व्यवसायलाई अनलाइन माध्यमबाट प्रवद्र्धन गर्ने सीप, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल मार्केटिङका आधारभूत पक्ष तथा ग्राहकसँगको अनलाइन सम्पर्क विस्तारसम्बन्धी ज्ञान प्रदान गरिनेछ । कार्यक्रमको सञ्चालन उर्लाबारी उद्योग वाणिज्य संघकी महासचिव सम्झना खतिवडाले गर्नुभएको थियो ।























