उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित सप्तकोशी बोर्डिङ स्कुलले शैक्षिक, सामाजिक तथा विभिन्न विशेष विधामा उत्कृष्टता हासिल गरेका १०५ जना विद्यार्थीलाई कुल २८ लाख ९४ हजार १ सय ३० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।

विद्यालय परिसरमा आइतबार आयोजित विशेष कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता, अनुशासन, आर्थिक अवस्था तथा विभिन्न सामाजिक आधारका आधारमा छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयले हरेक कक्षाबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीका साथै विभिन्न वर्ग र समुदायका विद्यार्थीलाई समेत छात्रवृत्तिको दायरामा समेटेको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले शिक्षामा गरिएको लगानी नै राष्ट्रको उज्ज्वल भविष्य निर्माणको आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक तथा गुणस्तरीय शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

नगरप्रमुख खरेलले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा मात्र नभई नैतिक र सामाजिक रूपमा पनि सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उहाँले आगामी दिनमा अझ मेहनती, अनुशासित र जिम्मेवार भएर अध्ययनमा लाग्न आग्रह गर्नुभयो।

“विद्यार्थीको क्षमता पहिचान गरी सम्मान र प्रोत्साहन गर्ने कार्य अत्यन्त प्रशंसनीय छ। यसले अन्य विद्यार्थीलाई समेत उत्कृष्ट बन्न प्रेरित गर्छ,” उहाँले भन्नुभयो। साथै सामुदायिक र संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सबै शैक्षिक संस्थाले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ भट्टराईले स्थापना कालदेखि नै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। छात्रवृत्ति कार्यक्रम आर्थिक सहयोग मात्र नभई विद्यार्थीको मेहनत, लगनशीलता र उपलब्धिको सम्मान भएको उहाँको भनाइ थियो।

“हामी विद्यार्थीलाई पढाइमा मात्र होइन, अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वमा पनि उत्कृष्ट बनाउने लक्ष्यसहित अघि बढिरहेका छौं,” अध्यक्ष भट्टराईले भन्नुभयो। उहाँले आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै लैजाने योजना रहेको जानकारी दिनुभयो।

विद्यालयकी संस्थापक प्रिन्सिपल मिश्र बैजयन्ती भट्टराईले यस वर्ष नौ विभिन्न क्याटेगोरीअन्तर्गत १०५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, विपन्न, दलित, मधेसी, द्वन्द्वपीडित, आदिवासी, अभिभावकविहीन तथा शिक्षकका सन्तानलगायत विभिन्न समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

“विद्यार्थीको प्रतिभा, मेहनत र आवश्यकतालाई मूल्याङ्कन गरेर छात्रवृत्ति प्रदान गरिएको छ। यसले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै अध्ययनप्रति थप जिम्मेवार बन्न प्रेरणा दिने विश्वास लिएका छौं,” उहाँले बताउनुभयो। विद्यालयले गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको उहाँको भनाइ थियो।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी र अभिभावकहरूले विद्यालयले गरेको सम्मान र प्रोत्साहनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए। शिक्षासेवी लेखनाथ भट्टराईद्वारा स्थापित उक्त विद्यालयलाई अझ गुणस्तरीय बनाउँदै उहाँको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष भट्टराईले विद्यालय निरन्तर शैक्षिक उत्कृष्टताको यात्रामा अघि बढिरहेको बताउनुभयो। हाल विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय