उर्लाबारीस्थित जीवन बचाउ उपचार सेवा गृहबाट फरार भएका दुई अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
कन्डमभित्र ब्राउन सुगर लुकाएर मलद्वारमार्फत ओसारपसार गरेको आरोपमा पक्राउ परेका उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङ उपचार केन्द्रबाट भागेपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। दुवैलाई पुनः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २३ गते मोरङको उर्लाबारी–७ गोलचोक क्षेत्रबाट लागूऔषधसहित पक्राउ परेका उनीहरू शनिबार राति करिब १ः३० बजे उपचार गृहबाट फरार भएका थिए।
रातिको समयमा बिरामी भएको बहाना गर्दै होहल्ला गरेपछि कर्मचारी र स्वयंसेवक उनीहरू रहेको कोठातर्फ पुगेका थिए। त्यसक्रममा अभियुक्तहरूले कर्मचारीलाई नियन्त्रणमा लिएर कोठाभित्र थुनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भाग्ने क्रममा कर्मचारीसँग भएको घम्साघम्सीमा उपचार गृहका सुरक्षागार्ड वियन कार्की घाइते भएका छन्। उनको हात भाँचिएको जनाइएको छ भने अन्य केही कर्मचारी सामान्य घाइते भएका छन्। कर्मचारीको प्रतिरोधका बाबजुद उनीहरू उपचार गृहको तारजाली नाघेर फरार भएका थिए। फरार भएपछि प्रहरीले विभिन्न स्थानमा खोजी तीव्र बनाएर दुवैलाई पुनः पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























