मोरङको बबियाबिर्ताको एउटा साधारण किसान परिवारमा जन्मे–हुर्केकी थिइन् नुमा लिम्बू ‘चञ्चला’। जन्मिँदा परिवारले उनलाई छोरोका रूपमा चिन्यो। दुई छोरीपछि जन्मिएको सन्तान भएकाले परिवारमा उनको विशेष माया र अपेक्षा थियो। घरपरिवारले उनलाई भविष्यमा परिवारको जिम्मेवारी सम्हाल्ने र वंश धान्ने व्यक्तिका रूपमा हेरेको थियो।
तर उमेर बढ्दै जाँदा उनीभित्रको अनुभूति फरक हुँदै गयो। उनलाई छोरीहरूसँग घुलमिल हुन सहज लाग्थ्यो। उनीहरूको पहिरन, गरगहना र सौन्दर्यप्रतिको आकर्षण बढ्दै गयो। बाहिरबाट समाजले उनलाई छोरा भनिरहे पनि भित्रभित्रै उनले आफूलाई फरक रूपमा अनुभव गर्न थालेकी थिइन्।
यो अवस्था परिवार र समाजका लागि सहज थिएन। विद्यालय जीवनदेखि नै उनले अपमान, उपहास र अस्वीकारको सामना गर्नुपर्यो। साथीहरूले गिज्याउने, नाम राख्ने र अलग व्यवहार गर्ने घटनाले उनको आत्मविश्वास कमजोर बनायो। क्याम्पस पुग्दा पनि अवस्था धेरै फेरिएन। बरु सामाजिक दबाब र मानसिक बोझ अझ बढ्दै गयो।
निरन्तरको अस्वीकार र अपमानले कहिलेकाहीँ उनलाई जीवनप्रति नै निराश बनायो। तर त्यही कठिन समयबीच सन् २००८ तिर उनको जीवनमा एउटा नयाँ मोड आयो। उनी लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारका क्षेत्रमा काम गर्ने संस्थासँग जोडिइन्। त्यहाँ पुगेर उनले पहिलोपटक आफूजस्तै अनुभव भएका मानिसहरू भेटिन्। आफ्नो अनुभूति गलत होइन भन्ने बुझिन्। आफूलाई बुझ्ने, स्वीकार्ने र आत्मसम्मानका साथ बाँच्ने आधार त्यहीँबाट सुरु भयो।
समाज र परिवारको अपेक्षा एकातिर थियो— छोरो भएर परिवारको जिम्मेवारी बहन गर्ने। तर उनीभित्रको वास्तविक पहिचान अर्कै थियो। आफ्नो परिचय खुला रूपमा स्वीकार गर्न र सार्वजनिक रूपमा उभिन उनलाई वर्षौँ संघर्ष गर्नुपर्यो। सामाजिक दबाब, पारिवारिक तनाव र आत्मसंघर्षका बीच उनले आफ्नो बाटो आफैं निर्माण गरिन्।
अन्ततः सन् २०१४ मा उनी थाइल्यान्ड पुगिन् र लिङ्ग पुष्टि सम्बन्धी प्रक्रिया पूरा गरिन्। त्यसपछि चक्र साउदेन लिम्बूको नामबाट परिचित जीवन नुमा लिम्बू ‘चञ्चला’का रूपमा अघि बढ्यो।
उनको यात्रा केवल व्यक्तिगत परिवर्तनको कथा होइन, आफूलाई स्वीकार गर्न खोज्ने, समाजसँग संघर्ष गर्दै पहिचानका लागि उभिने साहसको कथा हो। अपमान, अस्वीकार, मानसिक दबाब र सामाजिक पूर्वाग्रहका बीच पनि उनले हार मानिनन्। आज उनको अनुभवले एउटा सन्देश दिन्छ— मानिसलाई बाहिरी अपेक्षाले होइन, उसले आफूलाई जसरी महसुस गर्छ त्यसलाई पनि सम्मान गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय