झापा : वर्षायाम शुरु भएसँगै चट्याङ्का घटना शुरु भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा बस्दै आएका ३० वर्षीय वालबहादुर श्रेष्ठ रहेका छन्। भोजपुरको आमचोक–९ स्थायी घर भएका श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान खेतमा आली खन्ने क्रममा अचानक चट्याङ लाग्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
वर्षायाममा चट्याङका घटना बढ्ने भएकाले खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि बस्न वा काम गर्नबाट जोगिन प्रहरी तथा सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।























