निर्माणाधीन जिल्ला अस्पताल ताप्लेजुङको भवनको भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा ले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले निर्माण कार्यको प्रगति, गुणस्तर तथा समयमै सम्पन्न गर्ने विषयमा विशेष चासो व्यक्त गर्नुभयो।
मन्त्री पालुङ्वाले स्वास्थ्य पूर्वाधारलाई प्रभावकारी र सेवामुखी बनाउन निर्माण कार्य निर्धारित मापदण्डअनुसार अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको बताइएको छ। निर्माण सम्पन्न भएपछि जिल्ला अस्पताल ताप्लेजुङको सेवा क्षमता विस्तार हुने र नागरिकले थप सहज तथा स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, यसले जिल्लामा स्वास्थ्य सेवाको पहुँच सुधार गर्न समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।























