उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ४ करोड ४४ लाख ६० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा आयोजित नगरसभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख मीना खतिवडा पौडेलले उक्त अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।
प्रस्तुत बजेटको आम्दानीतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँट र नगरको आन्तरिक स्रोतलाई मुख्य आधार बनाइएको छ । जसअनुसार संघीय सरकारको वित्तीय समानीकरणतर्फ १५ करोड ९३ लाख, सशर्त अनुदानतर्फ २९ करोड ६९ लाख, विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ५० लाख ४६ हजार, सशर्त अनुदानतर्फ ३ करोड ५८ लाख ५१ हजार र समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ प्राप्त हुनेछ । संघ, प्रदेश र स्थानीय राजश्व बाँडफाँटबाट २१ करोड ९४ लाख २९ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको यस बजेटमा नगरको आन्तरिक स्रोतबाट १६ करोड ५९ लाख, जनसहभागिताबाट २ करोड, नगर विकास कोषबाट १ करोड ३० लाख र सडक बोर्डबाट ६५ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

नगरपालिकाले खर्चतर्फ भौतिक पूर्वाधार र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये पूर्वाधार विकासमा ३० करोड ७ लाख रुपैयाँ र शिक्षा क्षेत्रमा २४ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा ३ करोड ७८ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २ करोड ९८ लाख, कृषि विकासमा १ करोड ६२ लाख र सुशासनतर्फ १ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ । पशुपन्छी विकासका लागि ८५ लाख १७ हजार, वातावरण संरक्षण र विपत व्यवस्थापनमा ७० लाख ८० हजार, पर्यटन विकासमा ४४ लाख, सामाजिक सुरक्षा तथा संरक्षणमा ३७ लाख ५० हजार, खेलकुदमा ३० लाख तथा सूचना प्रविधितर्फ ३० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय