मिक्लाजुङ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन र आम्दानी बढाउने उद्देश्यका साथ मिक्लाजुङ गाउँपालिका–८ ले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा वडाभित्रका कृषकहरूलाई चापकटर, मकै छोडाउने मेसिन, काउ म्याट, अरमाना, ड्रिल मेसिन तथा स्प्रे ट्यांकी वितरण गरिएको हो । वडाले सञ्चालन गरेको यो कार्यक्रमले कृषकलाई कृषि यान्त्रिकीकरणतर्फ आकर्षित गर्दै व्यवसायिक खेती तथा पशुपालनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले कृषकको जीवनस्तर उकास्न कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि हाम्रो गाउँको मुख्य आधार हो । कृषकले आधुनिक उपकरण प्रयोग गर्न सके श्रम, समय र लागतको बचत मात्र होइन, उत्पादन र उत्पादकत्वमा समेत उल्लेखनीय वृद्धि हुन्छ । वडा कार्यालयले कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउन यस्ता प्रोत्साहनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ । प्राप्त सामग्रीको सही सदुपयोग गर्दै उत्पादन बढाउन सबै कृषकलाई आग्रह गर्दछु ।’
वडा सचिव मञ्जु पाण्डेले कृषकलाई व्यवहारिक सहयोग पु¥याउँदै कृषि पेशालाई सम्मानित र आम्दानीमुखी वडाले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुदान कार्यक्रम सामग्री वितरणमा सीमित छैन । यसको मुख्य उद्देश्य कृषकलाई आधुनिक प्रविधिसँग जोड्नु, उत्पादन लागत घटाउनु र कृषि व्यवसायलाई दिगो तथा प्रतिस्पर्धी बनाउनु हो । कृषकले प्राप्त सामग्रीको प्रभावकारी उपयोग गरे यस कार्यक्रमको वास्तविक उपलब्धि देखिनेछ ।’ अनुदानमा कृषि सामग्री प्राप्त गरेका कृषकहरूले वडाको सहयोगले खेतीपाती र पशुपालनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन् । उनीहरूका अनुसार आधुनिक उपकरणको प्रयोगले कामको गति बढ्नुका साथै उत्पादन लागत घट्ने र आम्दानी वृद्धि गर्न समेत टेवा पुग्नेछ । मिक्लाजुङ गाउँपालिका–८ ले कृषकको आयआर्जन वृद्धि, कृषि यान्त्रिकीकरण तथा आत्मनिर्भर कृषि प्रणालीको विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि यस्ता कृषकमैत्री तथा प्रोत्साहनमुखी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय