सरोज बस्नेत
मोरङको उत्तरी भेगमा फैलिएको चारकोसे जंगलभित्र एउटा यस्तो प्राकृतिक सम्पदा छ, जहाँ पुग्ने जो–कोही प्रकृतिको अनुपम सौन्दर्यमा हराउन पुग्छ । मिक्लाजुङ गाउँपालिका–६ मा अवस्थित बेतेनी पोखरी प्राकृतिक रूपमा बनेको आकर्षक सिमसार क्षेत्र हो । हरियाली जंगलको काखमा रहेको यो पोखरी जैविक विविधता, स्वच्छ वातावरण र प्राकृतिक शान्तिका कारण उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सबै आधार बोकेर बसेको छ । तर, पर्याप्त संरक्षण र व्यवस्थापनको अभावमा यसको वास्तविक सम्भावना अझै ओझेलमै परेको छ ।
करिब चार बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको बेतेनी पोखरी मिक्लाजुङ सामुदायिक वनभित्र पर्छ । वर्षौंदेखि प्राकृतिक रूपमा अस्तित्वमा रहेको यस पोखरीमा विभिन्न प्रजातिका स्थानीय माछा, कछुवा, जलचर तथा चराचुरुङ्गी पाइन्छन् । पोखरी वरिपरि फैलिएका विभिन्न प्रजातिका वनस्पतिले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अझ मनमोहक बनाएका छन् । बिहानको शीतल हावा, चराचुरुङ्गीको चिरबिराहट र जंगलको हरियालीले बेतेनी पोखरीलाई प्रकृतिप्रेमीहरूको रोजाइको गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ ।
केही वर्षअघि बेतेनी पोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले केही पूर्वाधार निर्माण गरिएको थियो । तर ती योजनाले पूर्णता पाउन सकेनन् । गाउँमा पर्यटक भित्रिने, स्थानीय उत्पादनको बजार विस्तार हुने तथा रोजगारीका अवसर सिर्जना हुने स्थानीयवासीको अपेक्षा रहे पनि हालसम्म बेतेनी पोखरीको अपेक्षित विकास हुन सकेको छैन । निर्माण गरिएका कतिपय संरचना जीर्ण अवस्थामा पुगेका छन् भने केही झारपातले ढाकिएका छन् । नियमित सरसफाइ, संरक्षण र व्यवस्थापन नहुँदा पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार नै ओझेलमा परेका छन् ।
बेतेनी पोखरीको सबैभन्दा ठूलो सम्पत्ति यसको जैविक विविधता हो। यहाँ पाइने माछा र कछुवाले यसलाई प्राकृतिक सिमसारका रूपमा विशेष बनाएका छन् । विभिन्न मौसममा आउने चराचुरुङ्गीका कारण यो क्षेत्र पक्षी अवलोकनका लागि पनि उपयुक्त मानिन्छ । यदि सिमसार संरक्षणलाई प्राथमिकतामा राखी वैज्ञानिक अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरियो भने बेतेनी पोखरी जैविक विविधता अध्ययन र वातावरणीय शिक्षाको महत्वपूर्ण केन्द्र बन्न सक्छ ।
पछिल्ला वर्षहरूमा मानिसहरू कृत्रिम मनोरञ्जनभन्दा प्राकृतिक गन्तव्यतर्फ बढी आकर्षित भइरहेका छन् । शान्त वातावरण, हरियाली जंगल, स्वच्छ हावा र प्राकृतिक दृश्यको खोजीमा निस्कने पर्यटकका लागि बेतेनी पोखरी आदर्श गन्तव्य बन्न सक्छ । यहाँ जंगल पदयात्रा, प्रकृति अवलोकन, फोटोग्राफी तथा वनभोजजस्ता गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्छ । विशेषगरी चारकोसे जंगलको बीचमा रहेको खुला प्राकृतिक वातावरण वनभोजका लागि अत्यन्त उपयुक्त छ । परिवार, विद्यालय, सामाजिक संस्था तथा विभिन्न समूहले वनभोज मनाउन सक्ने पर्याप्त सम्भावना यहाँ रहेको छ । त्यसका लागि सुरक्षित पार्किङ, शौचालय, खानेपानी, फोहोर व्यवस्थापन, विश्रामस्थल तथा बालमैत्री संरचनाको व्यवस्था गर्न सके बेतेनी पोखरी वर्षभरि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ ।
पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन पनि बेतेनी पोखरीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीयले होमस्टे सञ्चालन गर्न, स्थानीय परिकार र कृषि उत्पादन बिक्री गर्न, हस्तकलाका सामग्री प्रवद्र्धन गर्न तथा पर्यटनसँग सम्बन्धित साना व्यवसाय सञ्चालन गर्न सक्नेछन् । यसबाट गाउँमै रोजगारी सिर्जना हुनुका साथै युवालाई स्वरोजगार बन्न प्रेरणा मिल्नेछ । तर, पर्यटन विकासभन्दा पहिले संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ। सिमसार क्षेत्रको नियमित सरसफाइ, जलस्रोतको संरक्षण, जैविक विविधताको सुरक्षा तथा प्राकृतिक वातावरणको दिगो व्यवस्थापन अपरिहार्य छ । साथै, बेतेनी पोखरीलाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना तयार गरी योजनाबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधारको स्तरोन्नति र प्रभावकारी प्रचार–प्रसार गर्न सकिए बेतेनी पोखरी भविष्यमा मिक्लाजुङ गाउँपालिकामात्र होइन, मोरङ जिल्लाकै प्रमुख प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको छ ।
























