भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले जनप्रतिनिधि तथा अधिकृतस्तरका कर्मचारी र सोभन्दा माथिका कर्मचारीबाट ७ दिनको तलब, सहायकस्तरका कर्मचारी र सोभन्दा मुनिका कर्मचारीबाट ५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, अधिकृतस्तरका शिक्षक र सोभन्दा माथिबाट ५ दिनको तलब तथा सहायकस्तरका शिक्षक र सोभन्दा मुनिबाट ३ दिनको तलब सहयोग गरिने भएको छ । यसरी संकलित रकममध्ये ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय नगरपालिकाले गरेको हो । विपद्को यस कठिन घडीमा भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा स्थानीय सरकारको तर्फबाट साथ दिने उद्देश्यले सहयोगको निर्णय गरिएको नगरप्रमुखका प्रमुख स्वकीय सचिब सुजित चौधरीले जानकारी दिनुभयो ।























