दिपेन्द्र बराईली
उर्लाबारी । आगामी २०८४ वैशाखमा हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा मोरङको उर्लाबारीमा राजनीतिक गतिविधि तीव्र बन्न थालेको छ । विभिन्न दलभित्र मेयरका आकांक्षीहरूको चर्चा सुरु भइसकेको छ भने नयाँ राजनीतिक शक्ति, स्वतन्त्र उम्मेदवार र युवा नेतृत्वप्रति मतदाताको बढ्दो आकर्षणले यसपटकको निर्वाचन विगतभन्दा फरक र थप प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ ।
जेन्जी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित सफलता हासिल गरेपछि त्यसको प्रभाव स्थानीय तह निर्वाचनमा कस्तो पर्ने भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यता कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले श्रमदान र सामाजिक अभियानमार्फत आफ्नो उपस्थिति बलियो बनाउँदै लगेकाले यसपटक उर्लाबारीको राजनीतिक समीकरण थप रोचक बन्ने संकेत देखिएको छ ।
हाल उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) को नेतृत्वमा बहुमतको स्थानीय सरकार छ । मेयर, उपमेयर तथा वडा नं. १, ३, ५, ७ र ८ का वडाध्यक्ष एमालेबाट निर्वाचित छन् भने वडा नं. २, ४, ६ र ९ मा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । यद्यपि, बदलिँदो राजनीतिक परिस्थिति, नयाँ दलहरूको उदय र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताका कारण २०८४ को निर्वाचनमा ठूलो फेरबदल हुन सक्ने आँकलन राजनीतिक वृत्तमा भइरहेको छ । एमालेभित्र मेयरका लागि आकांक्षीहरूको सूची लामो देखिन्छ । वर्तमान उपमेयर मिनाकुमारी खतिवडा पौडेल, वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डे, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी र वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको नाम प्रमुख रूपमा चर्चामा छ । यसबाहेक पूर्वउपमेयर लक्ष्मीदेवी भण्डारी, अग्नी भट्टराई, चन्द्रबहादुर भट्टराई (भरत), योगेश बस्नेत, निरोज तिम्सिनालगायतका नेताहरू पनि सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन् ।
नेपाली कांग्रेसभित्र पनि मेयरको टिकटका लागि आकांक्षीहरूको संख्या उल्लेख्य छ । वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानको नाम चर्चामा छ । साथै कांग्रेस प्रदेशसभा (क) का उपसभापति लोलिम पोमु, नगर सभापति सुरेन्द्र लिम्बू, वीरबल थापा, जयधर्म आचार्य, सीता कार्की र ललित अधिकारीलाई पनि सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति भरत कँडेल, क्षेत्रीय सभापति सुमन कार्की, नगर सभापति उमेशजंग थापा तथा कुमार दाहालको नाम चर्चामा छ । प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जनसमर्थनलाई स्थानीय तहमा पनि विस्तार गर्ने रणनीतिमा रहेको रास्वपाले सक्षम र लोकप्रिय उम्मेदवार छनोटमा जोड दिने संकेत गरेको छ । यता श्रम संस्कृति पार्टीले पनि उर्लाबारीमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । श्रमदान र सामाजिक अभियानमार्फत जनसम्पर्क बढाउँदै आएको पार्टीबाट नगर अध्यक्ष चन्द्रबहादुर धिमाल र उपाध्यक्ष रवि मादेन लिम्बूको नाम मेयरका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । पार्टीले अन्य दलका लोकप्रिय र सक्षम व्यक्तिलाई समेत भित्र्याएर चुनावी प्रतिस्पर्धामा उतार्ने रणनीति बनाइरहेको चर्चा पनि छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, नगर अध्यक्ष गजेन्द्र दंगाल, टिकाकुमारी भट्टराई बोहोरा (शिला), चन्द्रबहादुर राईको नाम चर्चामा छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिक आचार्य सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन् । अन्य साना दलहरूले पनि आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन् ।
यसपटक स्वतन्त्र उम्मेदवारको संख्या पनि उल्लेख्य हुन सक्ने आकलन गरिएको छ । नेपाली कांग्रेस परित्याग गरेका भानुभक्त शर्मा पराजुली र एमाले छोडेका रुद्रबहादुर तामाङ स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यस्तै, कांग्रेसबाट टिकट नपाए जयधर्म आचार्य पनि स्वतन्त्र रूपमा मेयरको चुनाव लड्न सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको स्थानीय निर्वाचनमा दलको संगठनसँगै उम्मेदवारको व्यक्तिगत छवि, सामाजिक सक्रियता, विकासप्रतिको दृष्टिकोण र जनविश्वास निर्णायक बन्न सक्छ । विशेषगरी युवा मतदाता परिवर्तन, पारदर्शिता र परिणाममुखी नेतृत्वको पक्षमा देखिएकाले परम्परागत राजनीतिक समीकरण मात्र पर्याप्त नहुने आकलन गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूभित्र उम्मेदवार चयन, गठबन्धनको सम्भावना र चुनावी रणनीतिबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ । यद्यपि अहिलेको अवस्थाले भने उर्लाबारीको आगामी निर्वाचन बहुपक्षीय प्रतिस्पर्धा, नयाँ राजनीतिक समीकरण र कडा चुनावी भिडन्ततर्फ उन्मुख रहेको संकेत गरेको छ ।
























