बर्षासँगै उर्लाबारी नगरपालिकाका अधिकांश ग्राभेल सडक फेरि खाल्टाखुल्टी र हिलाम्मे बनेका छन् । केही दिनको वर्षाले नै सडक जीर्ण बन्नु र नागरिकले सास्ती भोग्न बाध्य हुनु दुःखद मात्र होइन, चिन्ताजनक विषय पनि हो ।
यो समस्या एक वर्षको होइन । हरेक वर्ष दोहोरिने नियति बनेको छ । त्यसैले यसलाई प्राकृतिक विपत्तिको परिणाम भनेर पन्छाउन मिल्दैन, यो पूर्वतयारीको अभाव र व्यवस्थापकीय कमजोरीको परिणाम हो । सडक नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको पूर्वाधार हो । विद्यार्थी विद्यालय जान, किसान उत्पादन बजार पु¥याउन, बिरामी अस्पताल पुग्न र सर्वसाधारण आफ्नो गन्तव्यमा सहज रूपमा पुग्न सडककै भर पर्छन् । तर वर्षा लाग्नेबित्तिकै सडकको बेहाल बन्नु विकासप्रतिको दायित्व निर्वाहमा कमजोरी देखिनु हो । स्थानीय सरकारसँग सीमित स्रोत हुन सक्छ । तर स्रोत सीमित हुनु र योजना कमजोर हुनु एउटै कुरा होइन । मनसुनअघि जोखिमयुक्त सडकको पहिचान, नियमित मर्मत, पानी निकासको उचित व्यवस्था र आवश्यक बजेट व्यवस्थापन गर्न सकिएको भए आजको समस्या यति गम्भीर हुने थिएन । वर्षा सुरु भएपछि मात्रै मर्मतको नाममा केही गिट्टी हाल्ने र फेरि उही अवस्था दोहोरिने प्रवृत्तिले दीर्घकालीन समाधान दिन सक्दैन ।
विकासको मापन उद्घाटन भएका योजनाको संख्याले मात्र हुँदैन । नागरिकले सहज रूपमा प्रयोग गर्न सक्ने पूर्वाधार निर्माण र त्यसको नियमित संरक्षणबाट विकासको वास्तविक अनुभूति हुन्छ । निर्माणसँगै मर्मत र संरक्षणलाई पनि समान प्राथमिकता दिन सकिएन भने लगानीको औचित्यमाथि नै प्रश्न उठ्छ ।

उर्लाबारीका नागरिकले सुविधा होइन, आधारभूत अधिकारको माग गरेका हुन् । सुरक्षित, सहज र भरपर्दो सडक कुनै विलासिता होइन । त्यसैले नगरपालिकाले तत्काल बिग्रिएका सडकको मर्मतलाई प्राथमिकता दिनुका साथै दीर्घकालीन समाधानका लागि स्पष्ट कार्ययोजना अघि सार्नुपर्छ । अन्यथा हरेक वर्ष वर्षा आउँदा सडक बिग्रने र जनताले सास्ती भोग्ने यो चक्र कहिल्यै अन्त्य हुने छैन । अब प्रश्न वर्षाको होइन, जिम्मेवारीको हो । जनप्रतिनिधि र सम्बन्धित निकायले त्यसको जवाफ कामबाट दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय