उर्लाबारी । राजनीति धेरैका लागि पद, प्रतिष्ठा र शक्ति प्राप्त गर्ने माध्यम हुन सक्छ । तर, केही व्यक्तिका लागि राजनीति समाजसेवाको अर्को बाटो मात्र हुन्छ । मोरङको उर्लाबारीका समाजसेवी पूर्ण वाइबा त्यही श्रेणीका व्यक्तित्व हुनुहुन्छ । जसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पटक पराजित भएपनि समाजसेवाको यात्रालाई कहिल्यै रोक्नुभएन । बरु चुनावी हारलाई जनसेवाबाट टाढिने कारण होइन, थप जिम्मेवारीका रूपमा लिनुभयो ।
६४ वर्षको उमेरमा पनि उहाँको सक्रियता, ऊर्जा र समाजप्रतिको समर्पण युवालाई समेत प्रेरणा दिने खालको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका दुःखी, पीडित र विपन्न नागरिकको साथमा उभिने उहाँको बानीले उर्लाबारी मात्र होइन, देशका विभिन्न स्थानमा उहाँलाई परिचित बनाएको छ । उहाँलाई चिन्नेहरू भन्छन्,‘जहाँ समस्या हुन्छ, त्यहाँ पूर्ण वाइबा पुगिहाल्नुहुन्छ ।’ वाइबाको समाजसेवाको यात्रा कुनै पद वा राजनीतिक अवसरबाट सुरु भएको होइन । समाजका लागि केही गर्नुपर्छ भन्ने सोच र मानवीय संवेदनाले उहाँलाई सामाजिक अभियानमा जोड्यो । सहयोग, सहकार्य र मानवीय सेवामा विश्वास गर्ने वाइबाले वर्षौंदेखि आफ्नो समय, श्रम र व्यक्तिगत स्रोतसमेत समाजका लागि खर्च गर्दै आउनुभएको छ ।
उहाँको नेतृत्वमा सम्पन्न भएका धेरै सामाजिक अभियानमध्ये सबैभन्दा चर्चित अभियान बालगायक अशोक दर्जीको घर निर्माण हो । ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ गीतबाट चर्चामा आएका अशोक दर्जीको परिवार अत्यन्तै कठिन अवस्थामा रहेको खबर सार्वजनिक भएपछि देश तथा विदेशबाट सहयोग जुटाउने अभियानको नेतृत्व वाइबाले गर्नुभयो । दमक नगरपालिका–२ मा जग्गा खरिददेखि पक्की घर निर्माण र हस्तान्तरणसम्म उहाँ निरन्तर खटिनुभयो । सहयोग संकलन, व्यवस्थापन, निर्माण कार्यको समन्वय र पारदर्शितामा उहाँले निर्वाह गर्नुभएको भूमिकाले धेरैको प्रशंसा पायो। अशोक दर्जीको परिवारले सुरक्षित घर पाउनु एउटा घर निर्माणको कथा थिएन, त्यो समाजमा सहयोगी भावना अझै जीवित रहेको सन्देश पनि थियो । अशोक दर्जीको घर निर्माणमै उहाँको अभियान रोकिएन । दर्जीकै घर नजिक त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका बालक टिकाराम धिमाल (भुईकटहरे) को अवस्थाले पनि उहाँलाई छोयो । फेरि सहयोग संकलन सुरु भयो । दमक नगरपालिका–३ मा जग्गा खरिद गरियो, पक्की घर निर्माण गरियो र सुरक्षित आवासको व्यवस्था मिलाइयो । यस अभियानमा पनि वाइबाले आफ्नै रकम खर्च गर्नुभयो भने देश–विदेशमा रहेका नेपाली समुदायलाई जोडेर सहयोग जुटाउन सफल हुनुभयो । यी दुवै अभियानले उहाँको समाजसेवा भाषणमा सीमित नभई व्यवहारमा आधारित रहेको प्रमाणित गर्छन् । समाजसेवाको अर्को महत्वपूर्ण पक्ष कला र संस्कृतिप्रतिको उहाँको सम्मान हो । राष्ट्रलाई एक हजार विश्वप्रसिद्ध व्यक्तित्वका मूर्ति निःशुल्क प्रदान गर्ने घोषणा गरेका मूर्तिकार मञ्जुल मितेरीको संग्रहालय स्थापना तथा आवश्यक मेशिनरी औजार खरिदमा समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । वाइबाको सहयोग घर निर्माण वा सांस्कृतिक अभियानमा मात्र सीमित छैन । आर्थिक अभावका कारण उपचार गर्न नसकेका धेरै बिरामीको उपचारमा उहाँले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुभएको छ । कतिपय अवस्थामा आफ्नै खर्चमा उपचार गराउनुका साथै अन्य दातालाई पनि जोडेर बिरामीको जीवन बचाउने प्रयास गर्नुभएको छ । नेपालमा भूकम्प, नाकाबन्दी, कोरोना महामारी, बाढीपहिरो, आगलागी, दुर्घटना वा अन्य कुनै विपत्ति आइपर्दा उहाँ सधैं अग्रपंक्तिमा देखिनुहुन्छ । राहत संकलन, वितरण, औषधि, खाद्यान्न र आवश्यक सामग्री उपलब्ध गराउने कार्यमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ । उर्लाबारीको पूर्वाधार विकासमा पनि उहाँको योगदान उल्लेखनीय छ । उर्लाबारी–५ को न्यूरोड क्षेत्रमा पेबल सडक निर्माणमा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभयो । भुकुटी मार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिको संयोजक भएर काम गर्नुभयो । सडक बत्ती जडानदेखि स्थानीय विकासका अन्य योजनामा समेत उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको छ । समाजसेवा आर्थिक सहयोगमा सीमित हुँदैन भन्ने उदाहरण पनि उहाँले प्रस्तुत गर्नुभएको छ । न्यानो अभियान नेपालमार्फत आर्थिक रूपमा कमजोर परिवारलाई लत्ताकपडा, खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्ने कार्यमा उहाँ निरन्तर जोडिनुभएको थियो । विभिन्न मठमन्दिर, गुम्बा, विद्यालय, सामाजिक संघसंस्था र सामुदायिक अभियानमा उहाँको सहयोग नियमित रूपमा रहँदै आएको छ । रोजगारीका क्रममा हङकङमा बस्दा पनि उहाँको समाजसेवाको भावना कमजोर भएन । बरु त्यहाँ रहेका नेपालीलाई संगठित गर्दै उर्लाबारी परिवार हङकङ स्थापना गर्नुभयो । संस्थापक अध्यक्षका रूपमा उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्नुका साथै नेपालमा प्राकृतिक विपत्ति, बिरामीको उपचार, शिक्षा तथा सामाजिक अभियानका लागि आर्थिक सहयोग जुटाउने कार्य गर्नुभयो । विदेशमा बसेर पनि मातृभूमिसँगको सम्बन्ध कसरी मजबुत बनाउन सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । समाजसेवामा सक्रिय हुँदै जाँदा उहाँ राजनीति पनि जोडिनुभयो । अहिले उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ । पार्टीको तर्फबाट प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभयो । चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभयो । तर दुवै निर्वाचनमा विजय हात पार्न सक्नुभएन । सामान्यतया चुनाव हारेपछि धेरै नेता सार्वजनिक जीवनबाट टाढिन्छन्। तर पूर्ण वाइबाको यात्रा फरक रह्यो। चुनावी पराजयपछि उहाँको सामाजिक सक्रियता झन् बढ्यो । उहाँले कहिल्यै समाजसेवालाई चुनावसँग जोड्नुभएन । निर्वाचन जिते पनि समाजसेवा गर्ने, हारे पनि समाजसेवा नै गर्ने उहाँको सोचले धेरैको सम्मान जितेको छ । उहाँका लागि समाजसेवा कुनै प्रचारको माध्यम होइन, जीवनको उद्देश्य बनेको छ । सहयोग गर्दा प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने उहाँको शैलीले धेरै नागरिकको विश्वास जितेको छ । कठिन अवस्थामा रहेका परिवार, उपचारको अभावमा छट्पटाइरहेका बिरामी, विपत्तिमा परेका नागरिक वा सामाजिक विकासका अभियान—जहाँ आवश्यकता हुन्छ, त्यहाँ उहाँको उपस्थिति देखिन्छ । समाजमा परिवर्तन ल्याउन पद अनिवार्य हुँदैन, इच्छाशक्ति र इमानदार प्रयास भए पुग्छ भन्ने सन्देश उहाँको जीवनले दिएको छ । पदभन्दा सेवा ठूलो हुन्छ भन्ने मान्यता व्यवहारमै प्रमाणित गर्दै उहाँ अझै पनि उही उत्साहका साथ सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । वाइबाको जीवनयात्राले समाजलाई एउटा स्पष्ट सन्देश दिन्छ—वास्तविक जित मतपेटिकामा होइन, मानिसको मनमा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय