मोरङको उर्लाबारी नगरपालिका–४ खोर्सानीबारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया पवित्रा बास्तोला रहेकी छन्। हिजो साँझ करिब ६ बजे आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई तत्काल उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, घरायसी विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
























