उर्लाबारी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले सुनसरीको देवानगन्जमा आइतबार भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले कुनै पनि मतभेद वा विवादको समाधान हिंसाबाट नभई संवाद, संयमता र कानुनी प्रक्रियामार्फत हुनुपर्ने बताउनुभएको हो । राज्यमन्त्री पालुङ्वाले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । उहाँले यस्ता अप्रिय घटना भविष्यमा दोहोरिन नदिन सबै पक्षले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बन्धुत्वको भावनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । ‘अनेकतामा एकता नै नेपाली समाजको सबैभन्दा ठूलो शक्ति हो,’ भन्दै उहाँले सबै समुदायले एकअर्काको आस्था, संस्कृति र अधिकारको सम्मान गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउनु सम्पूर्ण नेपाली नागरिकको साझा जिम्मेवारी र कर्तव्य भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय