मोरङको मिक्लाजुङ गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले जनताको स्वास्थ्यलाई केन्द्रमा राख्दै घर–घरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदाहरणीय अभियान सुरु गर्नुभएको छ । यस कार्यक्रमअन्तर्गत अप्रेसनपछिको ड्रेसिङ तथा टाँका निकाल्ने सेवा, दीर्घरोगीका लागि निःशुल्क सुगर र रक्तचाप परीक्षण, चिकित्सकको सिफारिसअनुसार आवश्यक बिरामीलाई निःशुल्क अक्सिजन सेवा तथा दमका बिरामीका लागि नेबुलाइजर (बाफ) सेवा घरमै पुगेर उपलब्ध गराइनेछ । स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई स्थानीयवासीले मानवीय संवेदनाले भरिएको र जनप्रतिनिधिको जिम्मेवारीको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन् । वडाध्यक्ष कुँवरले जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सोचका साथ कार्यक्रम सुरु गरिएको बताउनुभयो । विकास भनेको सडक र भवन निर्माणमा मात्र सीमित हुँदैन, नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने कार्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मिक्लाजुङ–८ मा सुरु गरिएको यो अभियान जनप्रतिनिधिको सेवाभाव, उत्तरदायित्व र मानवताको सशक्त उदाहरण बनेको छ । स्थानीय तहबाट यस्ता जनमुखी र मानवीय कार्यक्रम सञ्चालन हुँदा नागरिकको राज्यप्रतिको विश्वास अझ बलियो बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय