सुस्मा निरौला
अहिलेका अधिकांश युवामा वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेका बेला मोरङका एक युवाले स्वदेशमै व्यावसायिक कृषि र पशुपालनमार्फत आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
मोरङ निवासी सुरेश कुमार मेहता ले वि.सं. २०८१ साल असारमा मेहता पशुपालन तथा कृषि फार्म स्थापना गरी हाल करिब ४.५ बिघा जमिनमा व्यावसायिक कृषि तथा पशुपालन गर्दै आइरहेका छन्। करिब २० लाख रुपैयाँ प्रारम्भिक लगानीबाट सुरु गरिएको फार्म अहिले स्थानीय स्तरमै सफल कृषि उद्यमका रूपमा स्थापित हुँदै गएको छ।
फार्ममा हाल ८ वटा जर्सी तथा क्रस गाई पालिएका छन्। साथै बोडी, करेला, काक्रा, भिण्डी र घिरौँलालगायतका मौसमी तरकारी व्यावसायिक रूपमा उत्पादन हुँदै आएका छन्। यहाँ उत्पादन हुने ताजा तरकारी र दुग्धजन्य उत्पादन स्थानीय बजारमा नियमित रूपमा आपूर्ति हुने गरेको छ।
सुरुवाती चरणमा दक्ष कामदारको अभाव झेल्नुपरे पनि अहिले फार्मले ७ जना स्थानीयलाई रोजगारी प्रदान गरिरहेको छ। वार्षिक २ लाख रुपैयाँ जग्गा भाडा तिर्दै सञ्चालन भइरहेको फार्मबाट सबै खर्च कटाएर वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म खुद आम्दानी भइरहेको मेहताले जानकारी दिएका छन्।
मेहताका अनुसार कृषि व्यवसायमा उत्पादन मात्र नभई सुदृढ व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो। उत्पादन योजना, लागत तथा आम्दानीको अभिलेख, बजारको मागअनुसार बाली छनोट, समयमै कृषि सामग्रीको उपलब्धता र आधुनिक प्रविधिको प्रयोगले उत्पादन र नाफा दुवै वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
यद्यपि व्यवसाय सफल बन्दै गए पनि उनले केही चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। स्थानीय सरकारबाट कृषि औजार, मल, विषादी तथा बजार व्यवस्थापनमा पर्याप्त सहयोग नपाएको उनको गुनासो छ। विशेषगरी करिब २०० केजी रासायनिक मल आवश्यक पर्ने अवस्थामा आफूले जम्मा ५ केजी मात्र मल प्राप्त गरेको भन्दै उनले कृषि क्षेत्रमा आवश्यक सामग्रीको सहज उपलब्धता हुनुपर्ने माग गरेका छन्।
स्थानीय सरकारले सुरेश मेहताजस्ता मेहनती कृषि उद्यमीलाई प्राविधिक सहयोग, कृषि यन्त्रमा अनुदान, पर्याप्त मल–विषादीको व्यवस्था तथा बजार व्यवस्थापनमा सहजीकरण गर्न सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुनुका साथै अन्य युवालाई पनि कृषि उद्यमतर्फ आकर्षित गर्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
मेहता पशुपालन तथा कृषि फार्मले आधुनिक कृषि, पशुपालन र रोजगारी सिर्जनामार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ। यस्तो उदाहरणले स्वदेशमै श्रम, सीप र लगानीमार्फत सफल भविष्य निर्माण गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
























