उर्लाबारी । उर्लाबारी नगरपालिका–७ स्थित साविकको खेलमैदानमा समावेशी पार्क निर्माण गर्ने विषयमा देखिएको विवाद तत्कालका लागि सहमतितर्फ उन्मुख भएको छ । खेलमैदानमा असर पर्ने गरी कुनै पनि संरचना निर्माण नगर्ने उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले प्रतिबद्धता जनाउनुभएको हो ।
समावेशी पार्क निर्माणका क्रममा वाल, शौचालयलगायतका संरचना निर्माण गरिए पनि साविकको खेलमैदान प्रयोगमा असर नपर्ने गरी काम अघि बढाउने मेयर खरेलले बताउनुभएको छ । साथै, खेलकुद गतिविधिका लागि अर्को उपयुक्त जग्गा खोजी गर्ने र त्यसका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ । सोमबार उर्लाबारी–७ का युवा, खेलाडी, खेलप्रेमी तथा सामाजिक व्यक्तित्वसहित ५० भन्दा बढी स्थानीयको सहभागितामा भएको छलफलमा मेयर खरेलले अर्को खेलमैदानको सुनिश्चितता नभएसम्म हाल प्रयोग हुँदै आएको खेलमैदानलाई निरन्तर प्रयोग गर्न दिने मौखिक सहमति गरेका छन् । स्थानीय युवाहरूले भने समावेशी पार्क निर्माणका नाममा खेलमैदानको क्षेत्रफल घट्ने वा खेलकुद गतिविधि प्रभावित हुने गरी संरचना निर्माण गर्न नहुनेमा जोड दिएका छन् । उनीहरूले खेलमैदान स्थानीय बालबालिका तथा युवाको खेलकुद विकाससँग प्रत्यक्ष जोडिएको भन्दै यसको संरक्षणलाई प्राथमिकतामा राख्न नगरपालिकासँग आग्रह गरेका छन् । छलफलमा जिल्ला खेलकुद समिति मोरङका सदस्य ईश्वरलाल उदास, नगर खेलकुद समितिका सदस्य मानबहादुर थ्रोपा लिम्बू, सामाजिक अभियन्ता यज्ञबहादुर बस्नेत, राजन रायमाझी, जितेन धिमाल, खेलकुद अभियन्ता चन्द्रबहादुर धिमाललगायतले खेलमैदान मासेर अन्य संरचना निर्माण गर्न नहुने धारणा राख्नुभयो । उहाँहरूले पार्क निर्माण आफैंमा सकारात्मक विषय भए पनि पार्क बनाउने नाममा पुस्तौँदेखि प्रयोग हुँदै आएको खेलमैदान गुमाउन नहुने बताउनुभएको छ । खेलमैदानको संरक्षणका लागि स्थानीयस्तरबाटै एकजुट भएर खबरदारी गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।
छलफलमा स्थानीय युवा विक्रम चापागाईं, अजय लिम्बू, दिनेश क्षेत्री, सरोज बस्नेत, सन्दिप सुवेदी, विजय शर्मा, सन्दिप सिम्बु लिम्बू, रमेश भण्डारी, समिर पौडेल, सौगात धिमाल, निरोज राना, सिर्जल श्रेष्ठ, समिप गौतमलगायतको सहभागिता थियो । यसअघि प्रस्तावित समावेशी पार्क निर्माणका क्रममा खेलमैदानको अस्तित्व नै संकटमा पर्ने भन्दै स्थानीय युवाहरूले विरोध जनाउँदै आएका थिए । खेलमैदानमा नियमित रूपमा फुटबललगायतका खेलकुद गतिविधि हुँदै आएको र सयौँ बालबालिका तथा युवाको खेलकुद अभ्याससँग यो मैदान जोडिएको उनीहरूको भनाइ छ । छलफलपछि युवाहरूले हालका लागि मौखिक सहमति स्वीकार गरे पनि सहमतिको भावना विपरीत खेलमैदान मास्ने हिसाबले कुनै संरचना निर्माण गरिए थप कदम चाल्ने चेतावनी दिएका छन् । स्थानीय युवाहरूको भनाइमा, ‘पार्क पनि चाहिन्छ, तर पार्कका लागि खेलमैदानको बलि दिन सकिँदैन ’ उनीहरूले नगरपालिकाले प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्नुपर्ने र खेलमैदान संरक्षणलाई दीर्घकालीन योजनामै समेट्नुपर्ने माग गरेका छन् ।























