उर्लाबारी । उर्लाबारी–७ स्थित साविकको खेलमैदान संरक्षणको माग गर्दै खेलमैदान संरक्षण अभियानले उर्लाबारीमा क्रियाशील पाँच राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।
अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका स्थानीय नेतृत्वलाई खेलमैदान संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । खेलमैदान संरक्षण अभियानका सरोज बस्नेतका अनुसार श्रम संस्कृति पार्टी उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर धिमाललाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र बुझाइएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीका सभापति उमेशजंग थापा, नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, नेकपा एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिना र नेपाली कम्युनिष्ट पार्टी उर्लाबारीका संयोजक गजेन्द्र दंगाललाई फेसबुक म्यासेन्जरमार्फत ज्ञापनपत्र पठाइएको हो । खेलमैदानमा समावेशी पार्क निर्माण गर्ने विषयमा विवाद भइरहेका बेला अभियानले राजनीतिक दलहरूलाई समेत खेलमैदान संरक्षणको पक्षमा स्पष्ट धारणा बनाउन आग्रह गरेको छ । अभियानका अनुसार खेलमैदान स्थानीय बालबालिका, युवा तथा खेलाडीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको महत्वपूर्ण सार्वजनिक सम्पत्ति भएकाले विकासका नाममा यसको क्षेत्रफल घटाउने वा खेल गतिविधिमा असर पर्ने संरचना निर्माण गर्न नहुने माग गरिएको छ । ‘विकास आवश्यक छ, तर विकासका नाममा खेलमैदान मास्नु हुँदैन’ भन्ने धारणा अघि सार्दै अभियानले सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालालाई साझा पहलका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय