उर्लाबारी । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेको विषयलाई लिएर मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
ब्रेक एण्ड लिंक्स (बिएल) मा कार्यरत खड्कालाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शुक्रबार उर्लाबारी–९ स्थित उनको घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगर लगिएको छ । उर्लाबारी नगरपालिका–७ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा रहेको खेलमैदान मासेर पार्क बनाउन खोजिएको भन्दै स्थानीय युवाहरुले विरोध जनाउँदै आएका थिए । खेलमैदान संरक्षण गर्नुपर्ने मागसहित युवाहरुले केही दिन आन्दोलनसमेत गरेका थिए । स्थानीयका अनुसार उक्त स्थान यसअघि लागुऔषध प्रयोग तथा युवायुवतीको जमघट हुने स्थानका रूपमा समेत चिनिँदै आएको थियो । सोही विषयलाई लिएर पत्रकार खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमा ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्ने आशयको स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसप्रति आपत्ति जनाउँदै उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुर भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएको बताइएको छ । सोही उजुरीका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । प्रहरीले खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी रहेको बताइएको छ । खड्काको पक्राउपछि स्थानीय युवाहरुले भने सामाजिक सञ्जालमा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन् । उनीहरुले खेलमैदान संरक्षणको विषयमा आफ्नो धारणा राखेकै कारण पत्रकारलाई पक्राउ गर्नु उचित नभएको बताएका छन् ।























