मधुमल्ला । मोरङको मिक्लाजुङ–७, मधुमल्लास्थित रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलबाट विद्यार्थीले अन्तरिक्षमा क्षुद्रग्रह (एस्टेरोइड) खोज्ने अभियान सुरु गरेका छन्।
रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलअन्तर्गतको रिलायन्स एस्ट्रोनोमी क्लबको आयोजनामा एकवर्षे क्षुद्रग्रह खोजी अभियान २०२६ शुक्रबारदेखि सुरु भएको हो। अभियानमा उर्लाबारी, दमक र मिक्लाजुङ क्षेत्रका आठ विद्यालयका ५० विद्यार्थी सहभागी भएका छन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) तथा अन्तर्राष्ट्रिय खगोलीय खोज अभियानसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको विद्यालयका इन्चार्ज निखिल अग्रवालले जानकारी दिनुभयो।अभियानको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशिनाथ खनालले गर्नुभयो। कार्यक्रममा बोल्दै खनालले रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको अन्तरिक्ष अध्ययन तथा अनुसन्धानसम्बन्धी कार्यक्रम नयाँ र फरक प्रकृतिको भएको बताउनुभयो।

“विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी अन्तरिक्ष अनुसन्धानसँग प्रत्यक्ष जोड्ने यो कार्यक्रम निकै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “यस्ता अभियानले विद्यार्थीमा वैज्ञानिक सोच र अनुसन्धान गर्ने संस्कार विकास गर्न सहयोग पुग्छ। अभियान सफलताको शुभकामना व्यक्त गर्दछु।” कार्यक्रमका विशिष्ट अतिथि मिक्लाजुङ–७ का वडाध्यक्ष शुशिलराज चौहानले आफ्नो वडाको विद्यालयले अन्तरिक्ष अध्ययन तथा अनुसन्धानको नयाँ यात्रा सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो। “हाम्रो वडाको विद्यालयबाट विद्यार्थीले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा पाइला चाल्नु गौरवको विषय हो,” चौहानले भन्नुभयो, “यस्ता कार्यक्रमले विद्यार्थीमा वैज्ञानिक सोच, जिज्ञासा र अनुसन्धानप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्छ।” अभियानअन्तर्गत भदौ १९ र २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलको बुद्ध हलमा दुईदिने प्रशिक्षण सञ्चालन भइरहेको छ। प्रशिक्षणमा आयोजक रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलसहित उर्लाबारीका भृकुटी मोडल एकाडेमी, नेपाल आदर्श, पशुपति तथा दमकका झापा मोडल, सूर्योदय, अक्पोट अंग्रेजीलगायत आठ विद्यालयका विद्यार्थी सहभागी छन्। प्रशिक्षणको सहजीकरण नेपाल एस्ट्रोनोमिकल सोसाइटीका सुरेश भट्टराई र सोसाइटीकी कार्यक्रम संयोजक मनीषा दुआले गरिरहनुभएको छ।

प्रशिक्षणमा विद्यार्थीलाई क्षुद्रग्रह पहिचान तथा खोजी गर्ने वैज्ञानिक विधिबारे सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थीले अन्तर्राष्ट्रिय खगोलीय खोज अभियान (IASC) बाट उपलब्ध गराइने वास्तविक खगोलीय तथ्यांकमा प्रत्यक्ष काम गर्दै तथ्यांक विश्लेषणमार्फत सम्भावित नयाँ क्षुद्रग्रह पहिचान गर्नेछन्।
विद्यार्थीले गरेको खोज वैज्ञानिक प्रक्रियाबाट पुष्टि भएमा उनीहरूको योगदानले अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा समेत मान्यता पाउने अवसर रहने आयोजकको भनाइ छ। त्यस्ता खोज वैज्ञानिक अभिलेख तथा प्रकाशनमा समावेश हुन सक्नेछन्। वैज्ञानिक प्रक्रिया पूरा गरी नामकरणका लागि योग्य ठहरिएको क्षुद्रग्रहमा खोजकर्ताले नाम प्रस्ताव गर्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन्। एक वर्षसम्म सञ्चालन हुने अभियानले विद्यार्थीलाई खगोल विज्ञानको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी वास्तविक अनुसन्धान, वैज्ञानिक तथ्यांक विश्लेषण र अन्तरिक्षसम्बन्धी खोजको व्यावहारिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलका निर्देशक सुवास राईको अध्यक्षतामा सम्पन्न भएको थियो।























