उर्लाबारी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मोरङको उर्लाबारीमा निकालिएको श्रीकृष्ण राधाकृष्ण रथयात्रा शनिबार हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भदौ १५ गतेदेखि सञ्चालन भएको विष्णु महापुराण, देवताहरूको प्राणप्रतिष्ठा तथा धार्मिक अनुष्ठानको समापनसँगै रथयात्रा निकालिएको हो । मन्दिर परिसरमा आयोजित विशेष समापन समारोहमा पूर्णाहुति, तिलक तथा प्रसाद वितरण गरिएपछि रथयात्राको औपचारिक सुरुवात गरिएको थियो । कुलुङचोकस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रामा सयौँ श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । भक्तिसंगीत, भजन–कीर्तन तथा विभिन्न आकर्षक झाँकीसहित निकालिएको रथयात्रामा नेवारी समुदायको परम्परागत सांस्कृतिक प्रस्तुतिले थप आकर्षण थपेको थियो। रथयात्रा स्थानीय बाघखोर, स्कुलडाँडा, उर्लाबारी चौक र बरगाछी क्षेत्रको परिक्रमा गरी पुनः राधाकृष्ण मन्दिर परिसरमा पुगेर विसर्जन गरिएको थियो । धार्मिक तथा सांस्कृतिक उत्सवको समापन समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतम, प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल लगायत स्थानीय धार्मिक, सामाजिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले धार्मिक आस्था र सामाजिक सद्भावले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको दुःखमा भगवान श्रीकृष्णको आशीर्वादले मलहम लगाउन सकियोस् भन्दै प्रार्थना गर्नुभयो । विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै खापुङले नेपाल विभिन्न जातजाति, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्नुभयो । विविधताबीचको एकता र साम्प्रदायिक सद्भावले राष्ट्रिय एकतालाई थप बलियो बनाउने उहाँको भनाइ थियो । त्यस्तै, स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले भगवान श्रीकृष्णले धर्मको रक्षा र अधर्मको अन्त्यका लागि अवतार लिएको धार्मिक मान्यताको चर्चा गर्दै श्रीकृष्णका आदर्शलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । त्यस्तै, प्रदेशसभा सदस्य पूर्वराज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले भगवान श्रीकृष्ण अन्यायविरुद्धको मार्गदर्शक रहेको बताउँदै रथयात्राले समाजमा रहेका कुरीति र विकृति अन्त्य गर्दै आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । आयोजक समितिका संयोजक चन्द्रबहादुर ‘भरत’ भट्टराईले उर्लाबारीको राधाकृष्ण रथयात्रा रथको यात्रा नभएर भक्तिको, प्रेमको, सामाजिक एकताको तथा स्थानीय मौलिक सांस्कृतिक पहिचानको यात्रा भएको बताउनुभयो । उहाँले महापुराण तथा रथयात्राबाट संकलित रकममध्ये केही रकम रसुवा बाढीपहिरो पीडितका लागि सहयोगस्वरूप पठाइने जानकारी दिनुभयो । धार्मिक अनुष्ठानसँगै सामाजिक सेवाको भावनालाई जोडेर कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो । समापन समारोहमा महापुराण तथा रथयात्राका लागि सहयोग गर्ने अक्षयकोषदाता, सहयोगी तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । भदौ १५ गतेदेखि २० गतेसम्म सञ्चालन भएको विष्णु महापुराणमा पण्डित संकल्प सुमन खनाल र पुण्यप्रसाद खतिवडाले धार्मिक अनुष्ठान तथा प्रवचन गर्नुभएको थियो । आयोजकका अनुसार महापुराण, देवताहरूको प्राणप्रतिष्ठा, श्रीकृष्ण रथयात्रा तथा धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न भएसँगै यस वर्षको धार्मिक कार्यक्रम पनि समापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय