उर्लाबारी । बिहानको शान्त वातावरणमा मन्दिर परिसरमा घण्टीको आवाजसँगै वैदिक मन्त्र गुञ्जिन्छ । कतै रुद्रीको पाठ भइरहेको हुन्छ, कतै वेदका ऋचा उच्चारण भइरहेका हुन्छन् । उमेरले सानै भए पनि काँधमा जिम्मेवारी ठूलो बोकेका २५ जना बटुक संस्कृत शिक्षा र वैदिक संस्कार सिक्न व्यस्त हुन्छन् ।
यो दृश्य हो मोरङको उर्लाबारी–६ स्थित सिद्धेश्वर शिवबाबा धामको। आधुनिक शिक्षाको भीडमा संस्कृत भाषा, वेद, रुद्री, चण्डी र वैदिक कर्मकाण्ड सिकाउँदै यो धामले हिन्दु वैदिक सनातन धर्म, संस्कार र संस्कृति संरक्षणको अभियान अघि बढाइरहेको छ । २०७० सालमा दर्ता भएको करिब ६ कठ्ठा जग्गामा फैलिएको धाम चार जना दाताबाट प्राप्त जग्गाबाट निर्माण भएको हो । स्थानीय दुर्गाप्रसाद खतिवडा, नरबहादुर कार्की, गोवर्धन शाक्य र दमकका दीपक श्रेष्ठल गायतको सहयोगमा यहाँ मन्दिर तथा धार्मिक संरचनाहरू निर्माण हुँदै आएका छन् । धाम परिसरमा सिद्धेश्वर शिवालय मन्दिरसँगै ज्येष्ठ नागरिक परोपकार आरामगृह, सभा हल, गोपीकृष्ण भजन–कीर्तन मण्डलीको भवन र श्री वेदव्यास वैदिक सनातन गुरुकुलम् सञ्चालनमा छ । २०७२ सालदेखि सञ्चालनमा रहेको गुरुकुलमा अहिले कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका २५ जना बटुक अध्ययनरत छन् । आठ वर्षभन्दा माथिका बालबालिकालाई आवासीय रूपमा राखेर शिक्षा प्रदान गरिँदै आएको छ ।
यहाँ संस्कृत भाषासँगै नेपाली, अंग्रेजी र गणित विषय पनि पढाइ हुन्छ । त्यसबाहेक वेद, रुद्री, चण्डी, संस्कृत व्याकरणलगायत वैदिक शिक्षा प्रदान गरिंदै आएको गरुकुलका अध्यक्ष भक्ति प्रसाद पोखरेल बताउनुहुन्छ । गुरु गोविन्द भट्टराईका अनुसार गुरुकुलमा परम्परागत वैदिक शिक्षालाई आधुनिक शिक्षासँग जोडेर अघि बढाउने प्रयास भइरहेको छ । “हिन्दु वैदिक सनातन धर्म, संस्कार र संस्कृतिलाई जोगाउन गुरुकुल शिक्षा आवश्यक छ,” भट्टराई भन्नुहुन्छ, “भविष्यमा पुराण, महापुराण तथा विभिन्न धार्मिक कर्मकाण्ड सञ्चालन गर्न यिनै बटुकहरूको भूमिका महत्वपूर्ण हुनेछ ।” गुरुकुलका गुरुहरू सुजन भट्टराई, सपना भट्टराई र गोविन्द भट्टराईले बटुकहरूलाई नियमित रूपमा शिक्षा दिइरहेका छन् । उर्लाबारी नगरपालिकाबाट कक्षा ६ सम्मको स्वीकृति प्राप्त गुरुकुलमा धार्मिक शिक्षासँगै सामान्य विद्यालय शिक्षालाई समेत निरन्तरता दिइएको छ ।
गुरुकुलका बटुकहरू पुस्तक र पाठशालामा मात्र सीमित छैनन्। सिद्धेश्वर मन्दिरमा उनीहरूले दैनिक रुद्राभिषेक तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाउँदै आएका छन् । स्थानीय गाउँ–ठाउँमा धार्मिक पाठपूजा तथा अनुष्ठान आवश्यक पर्दा निमन्त्रणा पाएर बटुकहरू त्यहाँ पुग्ने गरेका छन् । यसले उनीहरूलाई पढाइसँगै व्यवहारिक रूपमा वैदिक कर्मकाण्ड सिक्ने अवसरसमेत दिएको छ । धामले आर्थिक स्रोत जुटाउन हालसम्म तीन पटक पुराणसमेत आयोजना गरिसकेको छ । स्थानीय चन्दादाता, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूको सहयोगबाट धाम र गुरुकुलको सञ्चालन भइरहेको छ ।
धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गुरुकुल सञ्चालनमा आए पनि यसको यात्रा सहज छैन । आर्थिक स्रोतको अभाव, आवास, भान्सा, स्नानघर तथा शौचालयको समस्या अहिले पनि प्रमुख चुनौती बनेका छन् । गुरुकुलको भवन निर्माणाधीन अवस्थामा छ । बटुकहरूलाई आवासीय रूपमा राख्न भवनमा थप एक तला निर्माण गर्नुपर्ने आवश्यकता छ । भान्सा, बाथरूम र शौचालयको पर्याप्त व्यवस्था नहुँदा दैनिक व्यवस्थापनमा कठिनाइ हुने गरेको धामका पदाधिकारी बताउँछन् । “बटुकहरूका लागि लुगाकपडा, खानपानदेखि आवाससम्म धेरै आवश्यकता छन्,” धामका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा भन्नुहुन्छ, “भान्से राखेर बटुकहरूलाई आवासीय रूपमा राखिएको छ । तर स्रोत सीमित भएकाले सबै आवश्यकता पूरा गर्न कठिन भइरहेको छ ।” गुरुहरूको पारिश्रमिक उर्लाबारी नगरपालिका तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग जुटाएर व्यवस्थापन हुँदै आएको छ । धामका अध्यक्ष पदम रिजाल छिमेकी नगरपालिका तथा अन्य स्थानीय तह, संघसंस्था र सहयोगी मनहरूसँग पनि गुरुकुलको संरक्षणका लागि सहयोगको अपेक्षा रहेको बताउनुहुन्छ । उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल गुरुकुल सञ्चालनका लागि निर्माणाधीन भवनको दोस्रो तला छिटो निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । “गुरुकुलमा अध्ययन गर्ने बटुकहरूको संख्या र आवश्यकता हेर्दा भवनको दोस्रो तला अत्यन्त आवश्यक छ,” पौडेल भन्नुहुन्छ, “धर्म, संस्कृति र संस्कार संरक्षणका लागि भइरहेको यस्तो अभियानमा सबै पक्षको सहयोग आवश्यक छ ।” गुरुकुलको संरचना निर्माण तथा सञ्चालनमा उर्लाबारी नगरपालिका, कोशी प्रदेश सरकार, उर्लाबारी–६ वडा कार्यालय, स्थानीय चन्दादाता, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूको सहयोग रहँदै आएको छ ।
आजका बालबालिकाको ठूलो समय मोबाइल, इन्टरनेट र आधुनिक जीवनशैलीमा बितिरहेको छ। यस्तो अवस्थामा २५ जना बालक भने बिहानै उठेर स्नान गर्छन्, पूजापाठमा सहभागी हुन्छन्, मन्त्र उच्चारण गर्छन् र वेदका ऋचा कण्ठस्थ गर्छन् । उनीहरूका लागि गुरुकुल केवल विद्यालय होइन, जीवन पद्धति सिक्ने ठाउँ हो । यहाँ अक्षर मात्र पढाइँदैन, संस्कार सिकाइन्छ। वेद मात्र पढाइँदैन, आफ्नो संस्कृति बुझाइन्छ । मन्त्र मात्र उच्चारण गराइँदैन, अनुशासन र जिम्मेवारीको भावना विकास गराइन्छ । सिद्धेश्वर शिवधाममा गुञ्जिने वैदिक मन्त्रले एउटा महत्वपूर्ण सन्देश दिइरहेको छ—संस्कृति संरक्षण केवल विगत सम्झिनु होइन, नयाँ पुस्तालाई त्यसको ज्ञान हस्तान्तरण गर्नु पनि हो । तर त्यसका लागि गुरुकुलका यी साना बटुकहरूलाई केवल प्रशंसा होइन, सहयोग र संरक्षणको हात पनि चाहिएको छ । आज उनीहरू वेदका ऋचा सिकिरहेका छन्। भोलि यही पुस्ताले समाजमा धार्मिक अनुष्ठान, संस्कार र संस्कृतिको नेतृत्व गर्नेछ। त्यसैले सिद्धेश्वर शिवधाममा हुर्किरहेको यो गुरुकुल एउटा धार्मिक संस्था मात्र होइन, लोप हुँदै गएको वैदिक परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने आशाको दीप पनि हो ।























