उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका ९ वटै वडामा नेतृत्व चयन सर्वसम्मत बनेसँगै अब नगर नेतृत्व पनि सहमतिबाटै चयन गर्नुपर्ने माग बलियो बनेको छ । वडा अधिवेशनले दिएको एकताको सन्देशलाई नगर अधिवेशनसम्म निरन्तरता दिन कार्यकर्ताहरूले नेतृत्वमा सहमति खोज्न दबाब दिएका छन् ।
वडा तहमा सभापति, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिसहितका अधिकांश पदमा सहमति जुटेपछि कांग्रेसभित्रको आन्तरिक एकता थप मजबुत बनेको नेताहरूको बुझाइ छ । यही वातावरणलाई कायम राख्दै नगर नेतृत्वमा पनि चुनावी प्रतिस्पर्धाभन्दा सहमतिको बाटो रोज्नुपर्ने कार्यकर्ताहरूको जोड छ । नगरसभापतिका लागि विभिन्न नेताहरूको नाम चर्चामा आए पनि वर्तमान नगरसभापति सुरेन्द्र लिम्बूलाई नै पुनः एक कार्यकाल जिम्मेवारी दिनुपर्ने आवाज प्रभावशाली रूपमा उठेको छ । नगरसभापतिका आकांक्षीमध्ये पनि अधिकांशले लिम्बूलाई पुनः सभापति बनाएर अन्य पदमा आफूहरूलाई व्यवस्थापन गर्दै अघि बढ्न सकिने धारणा राखेको बताइएको छ । पार्टीभित्र नेतृत्वका लागि आकांक्षा राख्नु स्वाभाविक भए पनि अहिलेको आवश्यकता संगठनलाई विभाजित गर्ने प्रतिस्पर्धा नभई सबै पक्षलाई एउटै ठाउँमा उभ्याउने सहमति भएको कार्यकर्ताहरूको भनाइ छ । त्यसैले एक कार्यकालका लागि लिम्बूलाई निरन्तरता दिँदै अन्य पदमा आकांक्षीहरूलाई समेटेर नगर कार्यसमिति निर्माण गर्नुपर्ने उनीहरूको माग छ । ‘वडामा हामीले एकताको सन्देश दिएका छौँ । अब नगरमा पनि त्यसलाई व्यवहारमै देखाउनुपर्छ,’ एक कांग्रेस कार्यकर्ताले भन्नुहुन्छ, ‘सबैको सम्मान हुने गरी नेतृत्व मिलाउन सकिन्छ भने निर्वाचनमा जानुपर्ने अवस्था रहँदैन ।’ लिम्बूलाई पुनः सभापति बनाउने पक्षमा देखिएको समर्थनले नगर नेतृत्व चयनका लागि सहमतिको सम्भावनालाई बलियो बनाएको कांग्रेसका स्थानीय कार्यकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार नेतृत्वको आकांक्षा राख्नेहरूलाई जिम्मेवारीविहीन बनाउने होइन, पार्टीको आवश्यकता र योगदानका आधारमा उपसभापति, सचिव, सहसचिव तथा अन्य जिम्मेवारीमा समेटेर अघि बढ्नुपर्छ । कार्यकर्ताहरूले नगर नेतृत्व चयनमा सहमति जुटे त्यसले आगामी दिनमा कांग्रेस उर्लाबारीको संगठनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । वडा अधिवेशनमा देखिएको सहकार्यलाई नगर तहमा पनि निरन्तरता दिन सके पार्टीभित्रको आपसी विश्वास बढ्ने उनीहरूको अपेक्षा छ । कांग्रेस उर्लाबारीमा अहिलेको मुख्य बहस नेतृत्व कसले लिने भन्नेभन्दा सबैलाई कसरी एउटै टिममा राख्ने भन्नेमा केन्द्रित हुनुपर्ने कार्यकर्ताहरूको धारणा छ । त्यसका लागि वर्तमान नगरसभापति लिम्बूलाई पुनः एक कार्यकाल अघि सारेर बाँकी पदमा सहमति कायम गर्नुपर्ने माग अघि आएको हो । वडा अधिवेशनबाट बनेको सहमतिको वातावरणले नगर अधिवेशनका लागि पनि आधार तयार गरिदिएको छ । अब नेतृत्वका आकांक्षी र पार्टीका जिम्मेवार नेताहरूले कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै उर्लाबारी कांग्रेसलाई एकताबद्ध राख्ने गरी नगर नेतृत्व सर्वसम्मत चयन गर्छन् कि प्रतिस्पर्धाको बाटो रोज्छन् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय