मिक्लाजुङ । २४ वर्षको उमेरमै वडाध्यक्ष बनेर नेपालकै कान्छा वडाध्यक्षका रूपमा चर्चा कमाउनुभएका मिक्लाजुङ–२ का बलबहादुर श्रेष्ठ ‘अर्पण’ले नेपाली कांग्रेस मिक्लाजुङ गाउँकमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
हाल २८ वर्षका श्रेष्ठले पार्टी संगठनलाई नयाँ पुस्ताको सोच, प्रविधि र ऊर्जासँग जोड्दै अघि बढाउन आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएको छ । उहाँले पछिल्लो समय युवापुस्ताले उठाएका सवाल र ‘जेनजी’ पुस्ताको भावना तथा अपेक्षालाई पार्टीको संगठनात्मक संरचना र कार्यशैलीमा समेट्न आवश्यक रहेको धारणा राख्नुभएको छ । राजनीतिमा कम उमेरमै सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका श्रेष्ठले आफूलाई पदका लागि मात्र नभई संगठनलाई नयाँ ढंगबाट अघि बढाउने उद्देश्यले उम्मेदवारका रूपमा प्रस्तुत गरेको बताउनुभएको छ । “पार्टीलाई समयअनुसार परिवर्तन गर्दै नयाँ पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” श्रेष्ठले भन्नुभयो, “संगठनलाई अझ सक्रिय, प्रविधिमैत्री र जनतासँग प्रत्यक्ष जोडिने बनाउन मेरो उम्मेदवारी हो ।”
श्रेष्ठले नेपाली कांग्रेसको स्थानीय संगठनदेखि जनप्रतिनिधिको भूमिकासम्म सक्रिय भएर काम गरिसक्नुभएको छ । उहाँले मिक्लाजुङ–२ को वडा सभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । संगठन निर्माण, स्थानीय समस्या उठान तथा जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकाका कारण उहाँ स्थानीय तहमा परिचित र सक्रिय युवा नेताका रूपमा स्थापित हुनुभएको छ । २४ वर्षको उमेरमै वडाध्यक्षको जिम्मेवारी सम्हाल्दा श्रेष्ठले स्थानीय तहमा युवा नेतृत्वको सम्भावनालाई समेत उजागर गर्नुभएको थियो । जनप्रतिनिधिका रूपमा काम गर्ने क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका उहाँले पार्टी संगठन र जनप्रतिनिधिबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिँदै आउनुभएको छ । यसैबीच, नेपाली कांग्रेस मिक्लाजुङ गाउँकमिटीको सचिव पदमा श्रेष्ठलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिनुपर्ने आवाजसमेत पार्टीभित्र उठ्न थालेको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै संगठनमा सक्रिय भूमिका निर्वाह गरिसकेका कारण उहाँलाई सर्वसम्मत सचिव बनाउनुपर्ने पक्षमा स्थानीय कांग्रेस कार्यकर्ताहरू देखिएको बताइएको छ ।
पार्टीले पछिल्लो समय नयाँ पुस्ता र युवालाई संगठनको नेतृत्वमा प्राथमिकताका साथ अघि बढाउने नीति लिएको सन्दर्भमा श्रेष्ठको उम्मेदवारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समयदेखि परम्परागत शैलीमा चल्दै आएको राजनीतिक संगठनलाई नयाँ पुस्ताको आवश्यकता, प्रविधि र बदलिँदो सामाजिक परिवेशअनुसार अघि बढाउनुपर्ने आवाज बढिरहेका बेला श्रेष्ठको उम्मेदवारी आएको हो । श्रेष्ठले पार्टीभित्र युवाको सहभागिता बढाउने, संगठनलाई गाउँ–गाउँसम्म थप सक्रिय बनाउने र नागरिकका दैनिक समस्यासँग पार्टीलाई प्रत्यक्ष जोड्ने आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । कम उमेरमै जनप्रतिनिधि र पार्टी संगठनको जिम्मेवारी सम्हालिसक्नुभएका श्रेष्ठले सचिवको जिम्मेवारी पाए पार्टीलाई नयाँ सोच र कार्यशैलीका साथ अघि बढाउने संकल्प गर्नुभएको छ । अबको नेतृत्व चयनले नेपाली कांग्रेस मिक्लाजुङमा पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको समन्वयलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ ।























