केदार चौहान
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ भौगोलिक रुपमा सबैभन्दा विकट वडा मानिन्छ । जिल्लामै नाम कहलिएका खोला यही वडा भएर बग्छन् । बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोला वडा नम्बर १ को विकासका लागि बाधक बनेका छन् । वडाबासीका अनुसार वर्षेनि नदीबाट उर्लेर आउने बाढीले कटान र डुवान गर्ने समस्या अझै पनि हट्न सकेको छैन ।
उर्लाबारी नगरपालिका र वडा नम्बर १ को वडा कार्यालयले नदीको समस्या दीर्घकालिन रुपमा सम्बोधन गर्न नसकेसम्म जनताको दुःख सुखको साथी हुन नसक्ने स्वयम् जनप्रतिनिधि नै बताउँछन् । वडा अध्यक्ष मचिन्द्रकुमार कार्की भन्नुहुन्छ, ‘बक्राहा, मिक्लु, सोल्टी, वाहुनी, राम्री र मावा खोलाको पाता फर्काउन पाएको दिन म यति धेरै खुसी हुन्छु कि त्यसको सीमा नै छैन ।’ निर्वाचन ताका जनतासामु गरेका प्रतिबद्धता क्रमैसँग पूरा हँुदै गएको उहाँले बताउनुभएको छ । ‘यस्ता खोला नियन्त्रण गर्न मेरा काबुले हुने कुरा होइन, जुन कुरा ममात्र पूरा गर्न सक्दिन’ वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘यहाँका नदी नालाको समस्या राष्ट्रिय समस्या हुन्, तीन तहकै सरकारले समाधान गरेर यहाँका जनताको जीवनस्तर उकास्न मद्दत गर्नुपर्छ ।’
साविकको मधुमल्ला गाविसका वडा नम्बर ७, ८ र ९ लाई एकीकृत गरी उर्लाबारी नगरपालिकाको वडा नम्बर १ बनेको हो । १३.०१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो वडामा १ हजार ८ सय घरधुरी छन् । ब्राह्मण, क्षेत्री, राई, लिम्बू, मगर, दनुवार, धिमाल, ऋषिदेब, दमाई, सार्की, कामी गरेर वडामा २०७६ सालको सर्वेक्षणअनुसार १ हजार ८ सय ५६ घरधुरी र १० हजार २ सय ४६ जनसंख्या रहेको अध्यक्ष कार्कीले बताउनुभयो । नगरपालिका गठन हुनु पूर्व साविकको मधुमल्ला गाविसका वडा नम्बर ७, ८ र ९ नम्बर वडा (हाल उर्लाबारी नगरपालिका वडा नम्बर १) नगरको सडक सञ्जालसँग जोडिएका थिएनन् । शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका आवश्यक पूर्वाधारको पहँुच पुग्न सकेको थिएन । स्थानीयबासी भन्छन् ‘जब स्थानीय तह गठन भएर तीन तहकै सरकारको बजेट वडासम्म आइपुग्यो अनि वडाले काँचुली फेर्न थाल्यो ।’
उर्लाबारी नगरपालिकाबाट वडा नम्बर १ मा ०७४÷०७५ र ०७५÷०७६ मा एक÷एक करोड गरेर २ करोड सिलिङ्ग बजेट आएको थियो । ०७६÷०७७ र ०७७÷०७८ मा सालिन्य ९७ लाखका दरले वडा सिलिङ बजेट आयो । स्थानीय सरकार गठन भएपछि उर्लाबारी नगरपालिका वडा नम्बर १ मा ३ करोड ९४ लाख रुपैयाँ सिलिङ बजेट (०७७÷०७८ बाहेक) खर्च भइसकेको छ । वडा अध्यक्ष कार्कीका अनुसार आफू वडा अध्यक्ष भएर पदभार ग्रहण गरेका दिनदेखि ०७७ फागुन ५ गतेसम्म ६३२ मिटर सडक कालोपत्रे, २५ किलोमिटर सडक ग्राभेल र करिव १५ किलोमिटर सडक निर्माण गरिएको छ । यसका अलावा प्रदेश सरकारले दिएको १५ लाख रुपैयाँमा थापाडाँगीदेखि चिसापानीसम्म सडकको स्तरोन्नति गरिएको छ । वडा अध्यक्ष कार्कीले आफ्ना वडामा सञ्चालन भएका जति पनि आयोजना छन् त्यसको आम उपभोक्ताले ठहर गरेको निर्विवाद व्यक्ति आयोजनाको अध्यक्ष हुने परम्परा बसाउनुभएको छ । शारदा टोल विकास संस्थाका अध्यक्ष रहनुभएका समाजसेवी दिनेश फुँयल भन्नुहुन्छ, ‘तत्कालीन नेकपा एमालेबाट भारी मतका साथ विजेता बन्नुभएका वडा अध्यक्ष कार्कीको काम गर्ने शैली अन्य स्थानीय तहको भन्दा फरक छ ।’ नातागोता, कुलकुटुम्ब, इटमित्रलाई निर्माण आयोजनाको जिम्मा दिने चलन यो वडामा छैन ।’ भेलाले छनौट गरेको व्यक्ति नै जुनसुकै निर्माण उपभोक्ता समितिको अध्यक्ष वा संयोजक हुने चलन बसेको छ । यहाँ हालसम्म सञ्चालन भएका आयोजनाका सञ्चालक खुला प्रतिष्पर्धाबाटै आएकाले हालसम्म कसैको गुनासो वडा अध्यक्ष कार्कीले सुन्नु परेको छैन । उहाँले भन्नुभयो, ‘यो वडामा सञ्चालन हुने आयोजनामा पार्टी, जाति, धर्म, लिङ्ग र वर्गका आधारमा कसैलाई विभेद गरिएको छैन ।’
वडाको नेतृत्व कुशल व्यक्तिले पाएकोमा वडाबासी पनि सन्तुष्ट छन् । अधिकांश वडाबासी भन्छन्, ‘यस्तो वडा अध्यक्ष पो वडा अध्यक्ष हुनुपर्छ त । उहाँ नगरको मेयरकै लागि पनि सक्षम हुनुहुन्छ ।’ वडाबासीको माया पनि अध्यक्ष कार्कीले पाउनुभएकै छ । जुनसुकै विषयमा किन नहोस् उहाँ वडाबासीको लागि निर्भीकताका साथ अघि बढ्नुहुन्छ र बोल्ड डिसिजन गर्नुहुन्छ । जुन वडाका नागरिकले ताली बजाएरै समर्थन गर्ने गरेका छन् । वडा अध्यक्ष कार्कीको कार्यकक्षमा दिनमा कम्तिमा कुनै न कुनै विषयमा मुद्दा आउने गरेकै हुन्छ । मुद्दाको प्रकृति हेरेर वडा अध्यक्ष कार्कीले समय मिलाउने गर्नुभएको छ । वडासम्म आई नपुग्नु पर्ने विषयका मुद्धालाई घर गाउँमै मिलाइदिने गर्नुभएको छ । घर गाउँमा मिल्न नसकेका विषयका मुद्दा वडामा ल्याएर मिलाउने गरेको अध्यक्ष कार्की बताउनुहुन्छ । वडामा पनि मिल्न नसकेका विषयका मुद्दा प्रहरी कार्यालय हँुदै अदालतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । सुकुम्बासीको संख्या पनि तुलनात्मक रुपमा यो वडामा बढी छ । अशिक्षा, मापसे, लापसे, बैदेशिक रोजगार, बेरोजगार, गरिबी लगायतका कारणले वडामा धेरै विषयका झगडाका मुद्दा आउने गरेका छन् । वडाले गर्न मिल्ने प्रकृतिका मुद्दा वडाबाटै समाधान हुने गरेका छन् भने नमिल्ने प्रकृतिका मुद्दा न्यायालयसम्म पुग्ने गरेका छन् ।
अध्यक्ष कार्कीले हालसम्म ९ सय बढी विभिन्न प्रकृतिका मुद्दा वडाबाटै समाधान गरेका छन् । पक्ष र विपक्ष भएर वडामा आएका वडाबासी मिलेर फर्किएको देख्दा आफूलाई आनन्द आउने वडा अध्यक्ष कार्कीको भनाई छ । उहाँले भन्नुभयो, ‘शुरुमा आउँदा आफैँप्रति आक्रामक हुन्छन् होला जस्तो लाग्छ ।’ दुबै थरीका कुरा सुनेपछि आफूले गरेको निर्णय उनीहरुले मानिदिँदा गौरव लाग्ने गरेको उहाँले बताउनुभयो । आफू वडा अध्यक्ष भएपछि घर घरमा बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायतका पूर्वाधार पुगेकोमा वडा अध्यक्ष कार्की खुशी हुनुहुन्छ । सडक नभएर बसाई हिडेका वडाबासी गाउँ पर्किएको पाउँदा खुशी लाग्ने गरेको उहाँको भनाई छ ।
यो वडामा ४ वटा सामुदायिक विद्यालय छन् भने २ वटा निजी विद्यालय छन् । शारदा मावि, लक्ष्मी आधारभूत विद्यालय, नुनसरी आधारभूत विद्यालय र सूर्योदय आधारभूत विद्यालय वडामा छन् । दुई वटा बालविकास केन्द्रले पनि वडामा शिक्षाको ज्योति दिइरहेका छन् । एक वडा एक स्वास्थ्य केन्द्र सरकारको नीति अनुसार वडामा एउटा स्वास्थ्य केन्द्र पनि स्थापना भएको छ । वडाका अधिकांश वडाबासीले सो स्वास्थ्य केन्द्रबाट सहजै सेवा लिइरहेका छन् । उर्लाबारी–१ मा एउटा खानेपानी आयोजना पनि सञ्चालनमा आउन लागेको छ । पिपलडाँगी खानेपानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ । यो वडासहित मिक्लाजुङ्ग गाउँपालिकाको वडा नम्बर ९ का स्थानीयलाई सो खानेपानी आयोजनाले उपभोक्ताको सूचीमा राखेको छ ।
यो वडाको सबैभन्दा ठूलो समस्या सुकुम्बासी हो । वडामा २५६ परिवार भूमिहीन सुकुम्बासी छन् । तीन पुस्तादेखिका सुकुम्बासी वडामा छन् । आफू वडाध्यक्ष भएकै बेला उनीहरुलाई व्यवस्थापन गर्न सके वडाध्यक्ष भएको सार्थक सम्झन्थेँ भन्नुहुन्छ वडाध्यक्ष कार्की । आफ्नो काबु बाहिरको समस्या भएकाले सरकारले समाधान गर्नुपर्ने उहाँको तर्क छ । पूर्वका पहाडी जिल्लाबाट बसाईं सरी आएका यहाँ धेरै छन् । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा लगायतका जिल्लाबाट बसाई सरी आउनेको संख्या धेरै छ । यहीँ जन्मनुभएका जनार्दन आचार्य भन्नहुन्छ, ‘म यहीँ जन्मेको हुँ, अहिले ४० वर्ष भयो । सडक खोल्ने विषयमा पटक–पटक यस अघि टोलमा छलफल हुन्थ्यो, कहीँ न कहीँ कोही असहमत हुन्थे, स्थानीय सरकार गठन भएपछि टोल टोलमा पुग्ने सडक निर्माण भएको छ । यो सबै वडाध्यक्षको सक्रियताले हो ।’
उर्लाबारी नगरपालिकाको मुख्य आम्दानीको स्रोत पनि वडा नम्बर १ नै हो । यहाँबाट बग्ने नदीनालाबाट निकालिने निर्माण सामग्री नगरको आम्दानीको मुख्य स्रोत भएको स्थानीयले बताएका छन् । वडा अध्यक्ष कार्की भन्नुहुन्छ, ‘अन्य वडाको भन्दा आम्दानी वडा नम्बर १ ले बढी नगरलाई दिने गरेको छ ।’ बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोलाबाट उत्खनन् हुने निर्माण सामग्रीले समग्र नगरको आर्थिक हैसियत मजबुत बनेको छ । वडाका स्थानीयलाई काठ दाउरा लगायत वन पैदावर उपभोग गर्नका लागि ४ वटा सामुदायिक वन पनि सक्रिय छन् । सामुदायिक वनबाट उत्पादन हुने काठजन्य बस्तु वडाका उपभोक्ताले सहजै पाउने गरेका छन् । वडाध्यक्ष कार्कीले वडामा पदभार ग्रहण गरेपछि शिक्षा क्षेत्रमा पनि निक्कै फड्को मारेको छ । वडाको वालज्योति आधारभुत विद्यालय एउटा उदाहरण हो । सुकुम्बासी विद्यालयको नामले चिनिएको सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष कार्की निर्वाचित हुँदा १५ जना विद्यार्थी थिए । नेपाली माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयलाई अंग्रेजी माध्यममा लगेपछि विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक पनि विद्यालयको मेरुदण्डको रुपमा उभिएका छन् । ‘म आउँदा १५ जना विद्यार्थी विद्यालयमा थिए । ०७३ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्की निर्वाचित हुनुभयो । ०७४ सालमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गरेर राजेन्द्र गौतमलाई नियुक्त ग¥यो । त्यसपछि विद्यालयले अप्रत्यासित रुपमा छलाङ मा¥यो । सो विद्यालयमा अहिले १९४ जना विद्यार्थी अध्ययनरत छन् । चैत ५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष कार्की सो विद्यालयको अनुगमनमा जाँदा ९४ विद्यार्थी कक्षा कोठामा अध्ययन गरिरहेका थिए । दिउँसो १ बजे कक्षा कोठामा पुग्नुभएका अध्यक्ष कार्कीले ‘हेलो गुडमर्निङ एभ्रिबडी’ भनेर विद्यार्थीलाई सम्मान गर्दा उनीहरुले ‘गुड आफ्टरनुन सर’ भनेका थिए । अध्यक्ष कार्की विना सूचना कक्षा कोठामा पस्नुभएको थियो । विद्यार्थीलाई १२ बजेभन्दा अगाडि गुड मर्निङ्ग र ४ बजेसम्म गुड आफ्टरनुन भनेर सिकाइएको थियो । अध्यक्ष कार्कीले दिउँसो १ बजे गुडमर्निङ भनेर झुक्याउन खोजे तर विद्यार्थी बाठा भएका रहेछन् ।
वडाको अर्को ठूलो समस्या नदीमा पुल नहुनु हो । बक्राहा नदीमा पुल नहँुदा पश्चिम तर्फका सर्वसाधारणलाई वडा कार्यालयसम्म आउन दिनभर जस्तो लाग्थ्यो । ४५३ मिटर लामो झोलुङ्गे पुल सो खोलामा निर्माण हुन थालेपछि स्थानीयमा उमङ्ग छाएको छ । बर्षातको समयमा ठूलो समस्याको रुपमा बक्राहा नदी छ । आवत जावत गर्न वर्षातको समयमा सकिँदैन । पुल निर्माणका लागि काम हुन थालेपछि हरेक कारणले पनि वडा नम्बर १ अन्य वडाभन्दा १ नम्बर नै हुन थालेको छ । सो पुल ३ करोड ५९ लाख रुपैयाँमा जगदम्बा कन्ट्रक्सनले २८ महिनामा निर्माण सक्ने गरी ठेक्का लिएको हो । स्थानीय जीवन श्रेष्ठ भन्नुहुन्छ, ‘वडाको यो सबैभन्दा महत्वपूर्ण योजना हो । कुनैपनि कारणले निर्माणमा विलम्ब नहोस् ।’ झोलुङगे पुल निर्माण भएपछि बक्राहा नदी पश्चिमका वडाबासीलाई वडा कार्यालय आउन जान र पहाड तराईको सम्बन्ध जोड्ने मधुमल्ला बजार उपयुक्त गन्तव्य हुनेमा स्थानीय आशावादी छन् । वडाध्यक्ष कार्कीले वडा कार्यालयका लागि अर्को महत्वपूर्ण काम पनि गर्नुभएको छ । स्थानीय नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले २ कठ्ठा ५ धुर जग्गा दान गरेपछि उक्त जग्गामा वडा कार्यालय बनाउन नगरबाट बजेट विनियोजन भई निर्माण सुरु भएको छ । उक्त जग्गामा ६ कोठाको १ तले आरसीसी भवन निर्माण हुने छ । वडाध्यक्ष कार्कीका अनुसार ९६ लाख ९४ हजारमा वडा कार्यालय भवनको ठेक्का लागि सकेको छ ।
वडा नम्बर १ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । वडामा चिल्ड्रेन पार्क पनि निर्माणधीन अवस्थामा छ । पार्क निर्माण भएपछि वडाको आकर्षण थप हुनेमा अध्यक्ष कार्की आशावादी हुनुहुन्छ । वडा कार्यालयमा सेवा लिन पुग्नुभएकी शोभा हिङ्गमाङ्गले वडाध्यक्ष कार्कीको प्रशंसा गर्दै भन्नुभयो ‘हामीले उहाँलाई वडा पिताका रुपमा लिएका छौं । जस्तोसुकै समस्यामा पनि उहाँ अघि बढ्नु हुन्छ, जिल्लाभित्रका होस् वा बाहिरका ।’ अन्य पालिकाका वडाध्यक्षहरु विवादमा आएको सुन्दा दुःख मान्ने उर्लाबारी नगरपालिका वडा नम्बर १ का स्थानीय आफ्नै वडादेखि भने औधी खुशी छन् ।
१० हजार बढी जनसंख्या रहेको यो वडामा कसैलाई काखा र कसैलाई पाखा भने अध्यक्ष कार्कीले अहिलेसम्म गर्नुभएको छैन । वडा कार्यालयमा भेटिएका शंकर श्रेष्ठले भन्नुभयो, ‘वडाध्यक्ष कार्कीले वडाबासीको समस्यालाई नरम करम मिलाएरै लैजाने गर्नुभएको छ । कुनैदिन पनि विवाद वडामा छैन । सबै राजनीतिक दलले वडाध्यक्ष कार्कीको हरेक योजनामा साथ दिइरहेका छन् ।’ वडामा जिम्मेवारी पाएपछि आफूलाई विस्मात लाग्ने कुनै पनि गतिविधि नगरेको उहाँले बताउनुभएको छ । जतिपनि काम गरेँ सबै राम्रैका लागि गरेँ । एउटै मात्र कुरामा विस्मात छ, ‘बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोलाको तटबन्धन गरेर समस्या समाधान गर्न सकिनँ किनभने यो मेरो काबु भित्रको कुरा होइन ।’ कृषि क्षेत्रमा अगाडि बढेको यो वडामा ३ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरेको लेखनबृत्ति )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय