मिक्लाजुङ / बजेट अभावको पिरलो एकातिर, अर्कातिर उपभोक्ता समितिभित्रैको विवाद । यही कारणले मोरङको मिक्लाजुङ गाउँपालिका – ५ धानखेतीस्थित सोल्टी खोलाको पुल साढे तीन वर्षदेखि अलपत्र परेको छ ।

उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माणको इस्टिमेट तयार गरेर सुरू गरिएको उक्त पुल अलपत्र परेको हो ।

समयमा निर्माण पूरा नभएपछि अहिले अस्थायी रूपमायी काठको पुल बनाएपछि आवतजातवमा सहज भएको मिक्लाजुङ ५ धानखेतीकी भिमकुमारी लिम्बुले बताइन् । ‘पुल बन्छ र मधुमल्ला, कत्ले उर्लाबारीलगायतका बजार सीधै जान पाइन्छ भन्ने सपना डेढ वर्षदेखि अलपत्र छ,’ उनले भनिन्, ‘गाडी हिँड्नका लागि यहाँका सडक बन्यो तर पुल बनेन । पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर वर्खायाममा नदी तर्नुपर्ने बाध्यता छ ।’

मोरङको उत्तरी बजार लेटाङ्ग हुदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलाको पुल हो । सोल्टी खोला हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँद याममा जसोतसो खोलाबाट तर्छन् तर वर्षायाममा वारिबाट पारि जानसक्ने अवस्था हुँदैन । ‘हामीले पुल बनाउन उपभोक्ता समिति र स्थानीय तहहरूलाई भन्दै आएका छौं,’ उनले भनिन्, ‘पुल नहुँदा धेरै दुःख पाएका छौं तर हाम्रो दुःखबारे कसैले चासो देखाएको छैन ।’

वर्षौसम्म पक्की पुल नबनेपछि बर्खा सुरू भएपछि सोल्टी खोला पुलमा स्थानीयले काठको अस्थायी रूपमा पुल बनाएका हुन् । ‘पक्की पुल नबनेपछि अहिले काठको अस्थायी पुल बनेको छ,’ उनले भनिन्, ‘काठकै अस्थायी पुल बनेपछि यहाँका स्थानियलाई आवगमनमा धेरै सहज भएको छ ।’ सोल्टी खोलाको पुल नबन्दा सबैभन्दा बढी सास्ती मिक्लाजुङ ५ का गुप्ती, खोलीटार, गोदामचौक, छत्रपुर र मुगुटार गाउँका स्थानीयलाई रहेको छ । उनीहरू दैनिक उपभोग्य सामाग्रीदेखि स्वास्थ्य, शिक्षाको लागि सोल्टी खोला तर्दै उर्लाबारी धाउनुपर्ने अवस्था छ ।

मोरङको उत्तरी बजार लेटाङ्ग हुदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलाको पुल उपभोक्ता समिति गठन गरेर २०७५ भदौ ५ गतेदेखि निर्माण सुरू भएको हो ।

मिक्लाजुङ ५ का बरडाँडा सामुदायिक वनको १० लाख, सिंहदेवी सामुदायिक वनको १० लाख, धानखेती सामुदायिक वनको ५ लाख गरि तीन वटा सामुदायिक वनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले ३० लाख र वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट बिनायोजन हुने स्रोतको सुनिश्चता भएपछि पुल निर्माणको प्रक्रिया सुरू भएको होे । धानखेती वनले ५ लाख दिने भनिएपनि पैसाँ आएको थिएन् । वरडाँडा र सिंहदेविले बिनियोजन गरेको २० लाख रूपैयाँ बरावरको निर्माण सामाग्री दिएका थिए ।

प्रारम्भिक चरणमा टेकबहादुर राईको अध्यक्षतामा ९ जनाको उपभोक्ता समिति गठन गरेर पुल निर्माणको प्रक्रिया अगाडि बढेको थियो । तत्कालीन अध्यक्ष राईलाई स्वास्थ्यको समस्या आएपछि ०७५ पुसमा बुद्धिमान श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाएर पुल निर्माण थलानी भयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ सरकारले ५० लाख बजेट विनियोजन गरिदिएकोमा ३२ लाख खर्च भएको थियो भने १८ लाख रूपैयाँ फिर्ता गएको उपभोक्ता समितिका सचिव शंकर बजगाइँले जानकारी दिए । ‘दुई वटा सामुदायिक वनदेखि २० लाख मुल्य बराबरको निर्माण सामाग्री आएको थियो ।

गाउँपालिका, वडा र प्रदेश सरकारदेखि आएको बजेट पुल निर्माणमा खर्च भएको छ,’ बजगाइँले भने, ‘हरेक खर्चको हामीले पारदर्शी तरिकाले हिसाव राखेका छौं । सरकारी निकायदेखि आएको बजेट सकिएपछि काम रोकिएको हो ।’

अहिलेसम्म पुलको दुबै तर्फ पिल्लर बनाइएको छ । काम गर्दै गर्दा २०७७ जेठ १२ गते मिक्लाजुङ गाउँपालिकाले ५ का वडाअध्यक्ष रूद्रकुमार लिङ्देनको उपस्थितिमा पुरानो समितिलाई खारेज गरी भीमप्रसाद गौतमको अध्यक्षमा नयाँ समिति गठन भएको थियो । ‘हाम्रो पुरानो समितिले पुल निर्माणमा लागेको खर्चको सम्पूर्ण विवरण गाउँपालिका र प्रदेश सरकारलाई पारदर्शी ढंगले बुझाएर अडिट पनि भइसकेको छ ।

नयाँ उपभोक्ता समिति आएपछि हरेक हिसावको जानकारी गराएर हामीले सार्वजानिक सुनवाइ पनि गरेका थियौंं,’ बजगाइँले दाबीका साथ बिहीबार पत्रकार सम्मेलनमा भने, ‘केही मिडियामा आएजस्तो हामीले अनियमितता गरेका छैनौं ।’ आफुलाई मुछेर मिडियामा आएको समाचार निराधार र कुनै सत्यथा नभएको उनको भनाइ छ । आउँदै गरेको चुनावलाई लक्षित गरि केही व्यक्तिले उचालेको भरमा गलत समाचार आएको उनले दाबी गरे ।

यता वर्तमान उपभोक्ता समितिका अध्यक्ष गौतमले भने अघिल्लो समितिले हर हिसाव अहिलेसम्म नबुझाएको दाबी गरेका छन् । ‘अहिलेसम्म पुरानो समितिले गरेको खर्चको विवरण हामीले पाएको छैन,’ उनले भने । आर्थिक वर्षमा प्रदेश सरकारदेखि विनियोजन भएको ३० लाख रूपैयाँ नयाँ गठन भएको उपभोक्ता समितिले शर्षक बदल्दा फिर्ता गएको थियो ।

पुल निर्माणको लागि आएको ३० लाख अध्यक्ष गौतमसहितको उपभोक्ता समितिले शिर्षक बदलेर सडक बनाउन खोजेपछि प्रदेश सरकारले बिनायोजन गरेको पैसा फिर्ता गएको हो ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले पुल निर्माणको विषयमा अहिले आफुलाई कुनै जानकारी नभएको बताए । अहिले आफुलाई केही जानकारी नभएकोले सूचनाको हक प्रयोग गरेर जानकारी लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय