उर्लाबारी । डी’इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्टले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिक्लाजुङ–२ स्थित पर्यटकीय स्थल चुली पोखरी सम्म हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।
कलेजका विद्यार्थी तथा प्रशिक्षकहरूको सहभागितामा सम्पन्न उक्त हाइकिङ खुडी क्षेत्र हुँदै करिब तीन घण्टाको पैदल यात्रापछि चुली पोखरी पुगेर सम्पन्न भएको हो । कार्यक्रममार्फत स्थानीय पर्यटनको प्रवद्र्धन गर्नुका साथै विद्यार्थीहरूलाई प्रकृतिसँग नजिक गराउने उद्देश्य राखिएको कलेजले जनाएको छ । स्थानीय जनविश्वासअनुसार परापूर्वकालमा चुली पोखरी क्षेत्रमा ‘राजा पोखरी’ र ‘रानी पोखरी’ नामका दुईवटा पोखरी रहेका थिए । कालान्तरमा पश्चिमतर्फ रहेको रानी पोखरी सुक्दै गएपछि हाल राजा पोखरी मात्र बाँकी रहेको मान्यता रहेको छ । चारैतिर डाँडाकाँडाले घेरिएको चुरे क्षेत्रको थाप्लोमा करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको चुली पोखरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलका रूपमा परिचित छ । धार्मिक तथा पुरातात्त्विक दृष्टिले समेत महत्वपूर्ण मानिने यस स्थानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना बोकेको स्थानीयवासीको भनाइ छ । हाइकिङ कार्यक्रमले चुली पोखरीजस्ता ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।























