३ भाद्र २०७७, बुधवार

अमृता लम्साल

पितृत्वलाई सम्झँदै एउटा लेख लेख्छु भनेर कम्प्युटर खोलेँ। सरर एकपटक सामाजिक सञ्जालमा आँखा दौडाउन मन लागिहाल्यो।

ट्विटर खोलेँ। सबभन्दा माथि नै दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको ट्विट रहेछ- २.५ महिनाकी बच्चीलाई उसका बुवाले ४० हजारमा बेचे। हिजो प्रहरीसँग मिलेर पूरै रात धूनधान खोज्दा बल्ल बच्ची भेटिइन्। यी सानी गुडिया चार पटक बेचिइसकिन्। यसमा संलग्न पाँच जना पक्राउ परेका छन्।

यो अगस्ट १३ को ट्विट हो।

जब जब बाबुहरूले गरेका यस्ता कुकृत्यबारे पढिन्छ, तब तब छातीमा भ्वाक्क लात्ताले हानेजस्तो हुन्छ।

तर ती बाबुहरू ‘अपवाद’ हुन्, हामी सबैलाई थाहा छ।

हामी भन्छौं, ‘बाबुहरू कठोर हुन्छन्, आमाहरू कोमल।’ यो भनाइ पनि सबैलाई लागू हुँदैन।

फ्रान्सेली निर्देशक लुक ज्याकेद्वारा निर्देशित ‘मार्च अफ द पेनगुइनस्’ डकुमेन्ट्री हेरिरहँदा मलाई लागेको थियो- ओहो, पेनगुइनका भालेहरू आफ्ना बच्चाका लागि कति दु:ख गर्दा रहेछन्! बच्चा कोरल्ने क्रममा आधा जतिले त आफ्नो प्राण नै उत्सर्ग गर्ने रहेछन्!’

त्यसका केही दृश्यले मनमा नमिठो गाँठो छाडेको थियो।

हुन त मैले ६/७ वर्षको हुँदै खरायोले जन्मिनेबित्तिकै उसका बच्चा मार्छन् भन्ने ज्ञान पाएकी थिएँ। घरमा पालेको खरायोले ब्याएपछि आफ्ना बच्चा लुकाएको थियो। हामीले अर्कोपटक ब्याउने बेलामा भाले खरायोलाई छुट्टै राखिदिन्थ्यौं।

कुशे औंशीका बेला मानिस होस् वा जनावर, मनका कुन्तरामा बसेका सबैका बाबुका कुराहरू कोट्टिन थाल्छन्। झन् केही हप्ताअगाडि आफ्नै आमाका हत्यारा आरोपित व्यक्ति जेलबाट रिहा भएपछि उनका छोराले, ‘मेरा बुवा निर्दोष हुनुहुन्छ’ भनेको कुराकानीले त कति दिनसम्म मन बिथोलिरह्यो।

तर पतिबाट पीडित र हत्यासम्म गरिएका पत्नीहरूका छोराछोरीले आरोपित बुवाहरूको पक्षमा बोलेको त्यो पहिलो वा अन्तिम घटना होइन।

२०४३ मा सालमा ‘स्टोभ पड्किएर मृत्यु भएको’ भनिएकी (त्यो घटनामा मुद्दा नचले पनि त्यसको हिंस्रक स्थितिबारे जानकारी भएकाले ‘भनिएकी’ लेखियो) महिलाका छोरीहरू र २०५४ साल वैशाख २९ गते मैतीदेवीमा श्रीमानद्वारा ‘बोक्सी झार्न’ कथित माताकहाँ ल्याइएकी सरस्वती अधिकारीलाई अर्धमृत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइयो।

सरस्वतीका दुई छोराछोरीलाई नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदीसमेत भएर ‘सिविन’ को तत्कालीन कार्यालय, वाफल पुर्‍याइयो। त्यो बेला करिब १२ वर्षकी छोरीले बाटोभरि भनिरहिन्, ‘आन्टी, ड्याडी त्यस्तो होइन, उहाँले ममीलाई धेरै माया गर्नुहुन्छ।’

जबकि सरस्वतीलाई त्यो घरको माथिल्लो तलामा भएको अस्थायी कोठाबाट हामी निकाल्न जाँदा उनका दुवै हात बेस्सरी कसेर बाँधिएको थियो। दुवै खुट्टाका बुढी औंला गलैंचाको तानको धागोले बाँधिएको थिए। चल्न र चटपटाउन नसक्ने स्थितिमा राखेर उनको जिब्रोमा पुन्यु तताएर पोलेको डाम थियो। घाँटी र घुँडामा उमालेको पानी खन्याएका कारण जल्जलाउँदा फोकैफोका थिए।

तर उनकी छोरी बारम्बार भनिरहेकी थिइन्, ‘आन्टी, बुबाले ममीलाई धेरै माया गर्नुहुन्छ।’

आफ्नै आँखाअगाडि बाबुले आमामाथि गरेका हिंसात्मक व्यवहारका बावजुद धेरै बच्चाहरू बाबुलाई किन दोषी ठान्दैनन् भन्ने बारेमा नेपालमा अनुसन्धान भएको थाहा छैन, त्यसैले कारण भन्न सक्दिनँ। तर जीवनको लामो यात्रामा उनीहरूमा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’  अर्थात् कुनै घटनापछि पर्ने नकारात्मक प्रभाव हुन सक्ने कुरा कमैले नकार्लान्।

यसअन्तर्गत आफैंलाई हानी पुर्‍याउने, कुनै काममा ध्यान दिएर लाग्न नसक्ने, त्यही नराम्रा घटना बारम्बार सम्झिरहने, निद्रा गुमाउँदै जाने आदि समस्या पर्छन्। साथै ती बच्चाहरूले आफूलाई बाबुकै पथमा ढाल्ने सम्भावना हुने भनेर अस्ट्रेलियास्थित मोनाश युनिभर्सिटीले गरेको अध्ययनले देखाएको थियो।

एउटा ‘बाबु’ को जीवनको प्रभाव उसका सन्तानहरूको जिन्दगीमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सोचेभन्दा बढी परिरहेको हुन्छ। त्यसैले ‘बा’ ‘विर्य दान गर्ने पुरुष’ मात्र होइन।

न्युरोसाइन्स  अनुसन्धाताहरू इयाल अब्राहम  र रुथ फेल्डम्यानले गरेको अनुसन्धान अनुसार, ‘यदि बाबु पनि बच्चाहरूको स्याहार-सुसारमा अलि बढी सक्रिय हुने हो भने ‘मातृत्व’ जत्तिकै ‘पितृत्व’ ले पनि आफ्नो सन्तानको जीवनमा महत्वपूर्ण स्थान ओगट्ने छ।’

यसबारे मेरा आफ्नै अनुभव पनि बाँड्न चाहन्छु।

मैले धेरै कार्यक्रममा र साथीहरूसँग पटक पटक भनेकी छु, ‘मैले चिनेको पहिलो नारीवादी व्यक्ति मेरो बुबा हुनुहुन्थ्यो।’ र फेरि पनि भन्छु- मेरो बुवा खाँटी नारीवादी हुनुहुन्थ्यो।

‘फेमिनिस्ट’ या ‘नारीवादी’लाई गाली र हेयको दृष्टिकोणले हेरिने या बुझिने नारीवाद, खासमा ‘नारीवाद’ नै होइन। मैले बुझेको नारीवाद, कानुनी अधिकार, ‘लिंग’ का आधारमा बनाइनु हुन्न। जसरी एउटा पुरुष आफूलाई मन लागेको विषय पढ्न, मन लागेको ठाउँमा रोजगारको अधिकार लिन, आर्थिक रूपले आफूलाई सक्षम बनाउने कदम चाल्न, पेसागत रूपले आफ्नो चाहना अनुरुप काम गर्न/पाउन स्वतन्त्र हुन्छ, त्यसैगरी महिला पनि बिना रोकटोक अगाडि आऊन् भन्ने हो।

तर बुझेर या बुझ पचाएर, यही कुरा नकारिन्छ र नारीवाद या महिलावाद खराब हो भन्ने टिप्पणीहरू गरिन्छ।

ती सबैका बावजुद मेरा बुवा मन्दिरप्रसाद लम्साल एउटा त्यस्तो पिता र पति हुनुहुन्थ्यो जसले कहिल्यै पनि सामाजिक विचारधारा र व्यवहारमा ‘नारीवाद विरोधी भावना’ लाद्नुभएन।

हुन त आजकाल जीवनभरि ‘महिलाको हक र अधिकारका लागि आइएनजिओसँग पैसा लिएर वकालत गर्नेहरू पनि आफूलाई, ‘म नारीवादी होइन’ भन्न रुचाउँछन्।

मलाई भने बारम्बार एउटै प्रश्नले घच्घच्याउँछ- मेरो बुवालाई आजभन्दा करिब ६० वर्षअगाडि पनि श्रीमतीलाई पढ्न सहयोग गर्नुपर्छ, घरको काम बाँडेर गर्नुपर्छ, छोरीहरूको स्याहार-सुसारमा आफ्नो भूमिका हुनुपर्छ भन्ने ज्ञान कताबाट आयो होला? टेलिभिजन, इन्टरनेट या यथेष्ट रूपमा पत्रपत्रिकाबाट सूचना पाउने वा बाँड्ने जमाना त्यो थिएन। न त आफ्ना पितापुर्खाबाट यस्ता शिक्षा पाइने समय थियो।

मेरो बुवाले भनेको सुनेकी छु- उहाँले भर्खर जन्मिएको शिशुलाई काखमा हाल्न आफ्नी कान्छी छोरीको नातिनी जन्मिँदासम्म कुर्नु पर्‍यो।

उहाँका आफ्ना पाँच छोरी थिए। तर त्यो बेला पिताको भित्री मनले चाहेर पनि काखमा शिशु हाल्न पाउने चलन थिएन। समाज त्यसैगरी अगाडि बढ्थ्यो। त्यति हुँदा पनि आज मलाई बुवाप्रति गर्व लाग्छ।

आफूले पाँच छोरीको लालनपालन र घरको काममा समेत सघााएर मेरी आमाको अधुरो पढाइलाई उहाँले निरन्तरता दिन लगाउनुभयो। फलस्वरुप मेरी आमा अहिले पनि धेरै संख्यामा नहुने ‘माध्यमिक विद्यालयको हेडमास्टर’ जस्तो पदमा पुग्न सफल हुनुभयो।

इयाल र रुथले गरेको ‘अर्ली चाइल्डहुड’ को अनुसन्धानमा भनिएजस्तै मेरो जीवनका प्रारम्भिक दिनमा बुवाले मलाई सिकाउनुभएको सिपको कुरा गर्दा स्कुले शिक्षाको तीन-चौथाई भाग उहाँबाटै सिकेँ। बत्ती कात्न, गाई दुहुन, सिमेन्ट र बालुवाको मात्रा मिलाएर पर्खाल लगाउन, बिजुलीको फ्युज बक्स चेक गरेर फ्युज हाल्न पनि उहाँले सिकाउनुभयो।

यी कुरा इयाल र रुथको अनुसन्धानसँग जोडेर हेर्दा लाग्छ, ‘पितृत्व’ ले प्रदान गरेको ‘मातृत्व’ लाई नै आफूले जीवनभर यादगार बनाएर राख्न सकेँ। सायद त्यसैको झलक मेरा काम गराइहरूमा पनि झल्किन्छ र मानिसहरू मलाई ‘छोरा जस्तै छोरी’ भन्छन्। ‘छोरा’ नभएकी मलाई केन्द्रविन्दु बनाएर फेरि पनि बुवाले आफ्नो कोमल ‘पितृत्व’बाट सशक्त बनाएको ‘छोरी’ को अस्तित्व सजिलै नकारिदिन्छन्।

यो लेखिरहँदा करिब बीस वर्षअगाडि उहाँले सुनाउनुभएको एउटा प्रसंग याद आइरहेको छ।

त्यति बेला पैतृक सम्पत्तिमा छोरीको अधिकारबारे घम्साघम्सी जसरी बहस चलिरहेको थियो। मेरा बुबा, जसको जीवनको तीन-चौथाई भाग ‘तारा गाउँ’ले गरेको अन्यायमा लडेर बित्यो, त्यही सिलसिलामा उहाँको भेट अधिवक्ता बालकृष्ण न्यौपानेसँग भएको रहेछ। कसरी हो, उहाँहरूबीच मेराबारे कुरा भयो।

त्यो कुराकानीमा बालकृष्ण न्यौपानेले मेरा बुबालाई भन्नुभएछ, ‘यस्तो छोराजस्तो छोरी हुनु हुँदोरहेछ अनि किन छोरा चाहियो र?’

बालकृष्ण न्यौपानेले मलाई व्यक्तिगत रूपले चिन्नुभएको छैन। तर त्यति बेलाको ‘पैतृक सम्पत्तिमा छोरीको अधिकार’ को पक्षमा म आगो ओकलेर कलम चलाउँथेँ। जुलुस र धर्नामा भाग लिन्थेँ। बालकृष्ण न्यौपाने त्यो मुद्दाको कट्टर विरोधी हुनुहुन्थ्यो।

यसरी त्यति बेला पनि ‘छोरी भएर छोरा जस्तो भूमिकामा’ देखिएँ म।

अमेरिकाको टेनेसी राज्यस्थित ‘पेडियाट्रिक एसोसिएट्स अफ फ्र्यांकलिन’ ले केही समयअघि प्रकाशन गरेको लेख ‘बच्चाको जीवनमा बाबुको महत्व’ मा भनिएको छ- बाबुहरूले बच्चाको भावनात्मक र सामाजिक विकासमा आमाको जत्तिकै महत्वपूर्ण भूमिका खेल्छन्। बच्चाहरूले बाबुहरूलाई आफ्नो संरक्षकका भूमिकामा हेरिरहेका हुन्छन्। समाजका अन्य व्यक्तिसँग बच्चाहरूले राख्ने सम्बन्धमा पनि उनीहरूका बाबुकै व्यवहार पछ्याइरहेका हुन्छन्। अझ छोरीहरू त झन् उनीहरूले पुरुषसँगको सम्बन्ध सिक्ने पहिलो पाठशाला नै बाबुहरू हुन्। त्यसैले बाबुले आमासँग गर्ने व्यवहारमा विचार पुर्‍याउनु पर्ने हुन्छ।

हाम्रा नीति-श्लोकहरूले पनि बाबुलाई ‘१६ वर्ष पुगेका छोराछोरीसँग (‘छोरी’ मैले थपेँ) साथीजस्तो व्यवहार गर्नू’ भनेर उपदेश दिन्छ। तर सामाजिक व्यवहारमा, यो व्यवहार कतिपय समयमा सजिलो हुँदैन। जसले गर्दा परिवारमा अनावश्यक दु:खका घटना पनि हुने गर्छन्।

त्यस्तै एउटा घटना उल्लेख गर्दै बाबुहरूमा समर्पित यो लेख बीट मार्छु।

मेरा हजुरबुबाका तीन छोरा, तीन छोरी। उहाँका जेठा छोरा १९ वर्षको उमेरमा हराउनुभएछ। यो सायद  २००० या २००१ सालतिरको घटना होला। उहाँ काठमाडौंबाट भैरहवाको सलाई कारखानामा काम गर्न जानुभएको रहेछ। केही समयपछि त्यतैबाट खबरै नगरी कतै जानुभयो। फर्किएर आउनुभएन।

टोल-छिमेकमा हल्ला चल्यो, ‘फलानाले आफ्नो छोरालाई इनारमा खसाल्यो।’

हाम्रो बाल्यकालभरि हजुरबुवामाथि लागेको यही आरोप सुन्दै हुर्कियौं।

चाबहिल, गणेशथाननिर एउटा मिठाइ पसल थियो। त्यहाँ भगवानलाई चढाउन मिठाइ किन्न जाँदा पसले सधैं सुनाउँथे- तिमीहरूको हजुरबाउले त छोरालाई इनारमा खसालेका रे! अनि मिठाइसँगै उनी अलिकति फोसा हलुवा दिन्थे। हरेक पटक फोसा हलुवासँगै हजुरबुबामाथि ‘छोरा इनारमा खसालेको आरोप’ घुटुक्क निलियो।

हामी छोरीहरूको बिहेको कुरा चल्यो। बिहे भएर जाने घरमा दुइटा कुरा हामीभन्दा पहिले भित्रिए।

पहिलो, हाम्रो हजुरबुवाले छोरालाई इनारमा खसालेको।

दोस्रो, दुई राम्रा दाजुभाइ भएका घरकी छोरी।’

हजुरबुवाको कानसम्म त्यो आरोप पुग्यो कि पुगेन, थाहा भएन। तर हजुरआमाका उदास आँखामा जेठा छोराको एक झल्को पाउने आश मनमा वेदना रहेरै उहाँको देहावसान भयो।

मेरै बुबाले पनि कतै जोगी आएर बस्दा पनि, ‘दाजुजस्तै हुनुहुन्छ बुझिस्’ भन्नुभएको अझै बिर्सिएकी छैन।

काका र फुपूहरूलाई पनि जीवनभरि दाजु देख्ने आशा रहिरह्यो। त्यही आशमा दुई फुपूहरूले पनि संसार छाड्नुभयो।

अनि हराएको ५६ वर्षपछि ‘इनारमा खसालिएको’ भनिएका छोराकी पत्नी हुँ भन्दै आफ्नी नातिनी लिएर एक महिला हाम्रो चुच्चेपाटीको घरमा आउनुभयो। उहाँहरू आउनुभन्दा पहिले हजुरआमाले जेठो छोराको चिना कति ठाउँमा देखाउनुभयो होला। भाकल गर्नुभयो होला। तर अहँ, उहाँको जेठो छोरालाई दया, माया केही लागेन।

हजुरबुवाको जेठा छोरा त भारतको दिल्लीमा घरजम गरेर बस्नु भएको रहेछ। र उहाँलाई यता आफ्नो घरको नालीबेली सबै थाहा रहेछ।

आफ्नो परिवारसँग पुनर्मिलन भएको करिब पाँच वर्षमा मेरा बुवाहरूका जेठा दाजु परलोक हुनुभयो।

यो सन्दर्भ कोट्याउनुको कारण जब छोराछोरी किशोरवयमा प्रवेश गर्छन्, उनीहरूलाई बुझ्ने प्रयत्न गर्दै समयसापेक्ष हुन सिक्नुपर्छ। ‘मेरो गोरूको बाह्रै टक्का’ समस्याको समाधान होइन।

कुशे औंसीको यो पावन अवसरमा मेरा स्वर्गीय बुवा र अन्य जिम्मेवार बुवाहरूमा सादर समर्पित!

सेतोपाटिवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!