उर्लाबारी । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले सो अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न संघर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की नेता शिला भट्टराईले महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई कडा दण्ड सँजाय हुनु पर्नेमा जोड दिनुभयो । राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चितता हुनु पर्ने उहाँको भनाई छ । त्यस्तै, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्दै महिला हिंसा अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपाध्यक्ष टेकबहादुर भट्टराई, सहसचिब दिपक आले, वडा नं. ४ का अध्यक्ष मिलन दाहाललगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय