
विराटनगर /विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् ।
विराटनगर महानगरपालिका ७ का उद्योगपति अरूणकुमार राठीलाई अपहरण, शरीर बन्धक, फिरौती असुली तथा कुटपिट गरी अंगभंग बनाएको आरोपमा उनलाई मोरङ जिल्ला अदालतले कारागार चलानको आदेश दिएको हो।
न्यायाधीश राजेकुमार कटुवालको इजलासले २४ वर्षीय खत्ताबलाई आज कारागार चलानको आदेश दिएको श्रेष्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिए।
‘तत्काल प्राप्त प्रमाणअनुसार खत्ताब कसुरदार हुन् भन्ने पुष्टि भएकाले पुर्पक्षका लागि कारागार चलान गर्नू,’ आदेशमा उल्लेख छ। अदालतको आदेशपछि खत्ताब मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनीसँगै पक्राउ परेका कार चालक विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जयकुमार रामलाई १ लाख धरौटिमा छोडन अदालतले आदेश दिएको उनले बताए ।
विराटनगरका उद्योगपति अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो ।
झन्डै एक महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । मोरङ प्रहरीले सञ्चालक खत्ताबलाई विराटनगर १ बाट मङ्सिर २९ गते पक्राउ गरेको थियो ।
राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए। खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मङ्सिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ।
आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै राठीले प्रहरीमा जाहेरी दिएका थिए। खत्ताब विराटनगर ६ मा बस्दै आएका छन्। उनको घर सिरहा नगरपालिका ४ हो।
विगत तीन वर्षदेखि राठीलाई खत्ताबले मिडियामा पार्टनर बनाएका थिए। उक्त मिडियामा राठीको २० प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर छ।