उर्लाबारी — किरात समुदायको महान पर्व उभौली (युच्याङ) को अवसरमा किरात राई याक्खा छुम्मा नगर समिति, उर्लाबारी द्वारा आयोजित उद्घाटन तथा सम्मान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले सांस्कृतिक विविधता, परम्पराको जगेर्ना र समाजप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने सन्देश दिएको छ।

उर्लाबारी वडा नम्बर ६ स्थित किरात याक्खा छुम्माको जग्गामा सोमबार याक्खा समुदायले परम्परागत रुपमा मनाईदै आएको उभौली पर्व (युच्याङ) विधिपूर्वक मनाएका छन्। किरात याक्खा छुम्मा उर्लाबारी नगर समितिको आयोजनामा बिहान ९ बजेदेखि जातीय पोशाकमा सजिएका याक्खा समुदायले नाचगानसहित पर्व मनाएका हुन्।
किरात याक्खा छुम्माका केन्द्रीय अध्यक्ष भूपाल सिंह जिमीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन च्याब्रुङ र ढोल बजाएर गरिएको थियो।
नगर समितिका अध्यक्ष प्रेम याक्खाकाअनुसार उभौली पर्व गोठ बस्ने समयसँग सम्बन्धित छ, जहाँ याक्खा समुदायले बाली उत्पादन राम्रो होस् भन्ने कामनाका साथ कुल देवता र प्रकृतिको पूजा गर्ने परम्परा छ। यही परम्परालाई सांस्कृतिक पर्वको रूपमा संरक्षण गर्दै आएको बताइएको छ।
यसपटक उभौली पर्वमा उर्लाबारी याक्खा छुम्माले प्राप्त गरेक‍ो २ कठ्ठा जग्गामा पहिलोपटक समुदायले आफ्नै जग्गामा पर्व मनाएको हो । उर्लाबारी–५ का खामबहादुर याक्खा देवानले ६ नम्बर वडा कायालयको दक्षिणपट्टि रहेको सो जग्गा निःशुल्क दान गरेका थिए। उनी आज आयोजित उक्त कार्यक्रममा एक सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।
यता अध्यक्ष प्रेम याक्खाले उक्त जग्गामा चाँडै किरात याक्खा छुम्माको कार्यालय भवन र सङ्ग्रहालय निर्माण गरिने जानकारी दिए। सो सङ्ग्रहालयमा याक्खा समुदायको कला, साहित्य र संस्कृतिको संरक्षण गरिने बताईएको छ ।
कार्यक्रम वडाध्यक्ष चिन्तामणि पौडेल, याक्खा इतिहास अनुसन्धानकर्ता सूर्य हाङ, किरात याक्खा छुम्मा मोरङका सदस्य दीपक याक्खा, पूर्व अध्यक्ष नरेन्द्र देवान, किरात राई यायोक्खा नगर समिति अध्यक्ष भीम बहादुर राई, धिमाल जातीय विकास केन्द्र अध्यक्ष मान बहादुर धिमाल, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष बानु सुब्बालगायतको आतिथ्यता रहेको थियो।
सो कार्यक्रमको सञ्चालन नगर सचिव सूर्यविक्रम याक्खाले गरेका थिए भने नगर उपाध्यक्ष कविता याक्खाले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय