मोरङ जिल्लाको रतुवामाई नगरपालिका–५, गोविन्दपुरमा अवस्थित सुनवर्षी पोखरी ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको एक आकर्षक पर्यटकीय स्थल हो । करिब ३.५ बिगाहा क्षेत्रफलमा फैलिएको यो पोखरी सदरमुकाम विराटनगरदेखि करिब ४० किलोमिटर पूर्वमा पर्छ । प्राकृतिक रूपमा रहेको पोखरी, वरिपरिको हरियाली र चराचुरुङ्गीको बासस्थान यस क्षेत्रका मुख्य आकर्षण हुन् ।
स्थानीय राजवंशी समुदायले सुनवर्षी पोखरीलाई पवित्र तीर्थस्थलका रूपमा मान्दै आएका छन् । तराई क्षेत्रका आदिवासी समुदायहरू—राजवंशी, ताजपुरिया, गनगाई, थारु, माझी, चौधरीलगायत—आफ्ना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गर्ने परम्परा रहिआएको छ । विशेषगरी, सिरुवा पर्वको अवसरमा प्रत्येक वर्ष वैशाख १ गते यहाँ भव्य मेला लाग्ने गर्दछ । उक्त मेलामा पूजाआजा गर्न तथा दर्शनका लागि झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ ।
सुनवर्षी महाराजको ग्रामथानमा श्रद्धापूर्वक पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । स्थानीय जनश्रुतिअनुसार, राजा सुनवर्षीले यस पोखरीमा वास गर्ने विश्वास गरिन्छ । परापूर्वकालमा विवाहजस्ता विशेष अवसरमा आवश्यक भाँडाकुँडा र गहना पोखरीसँग माग्दा प्राप्त हुने गथ्र्यो भन्ने किम्बदन्तीसमेत प्रचलित छ । हाल स्थानीयवासीले पोखरीको डिलमा सुनवर्षी महाराजको मन्दिर निर्माण गरेका छन् । भक्तजनहरू त्यहाँ भाकल गर्ने, पूजा गर्ने र भाकल पूरा भएपछि उत्सव मनाउने परम्परा अझै पनि जीवित छ । उनीहरू सुनवर्षी महाराजलाई साक्षात् ईश्वरका रूपमा पूजा गर्छन् । सुनवर्षी पोखरी केवल एक धार्मिक स्थल मात्र नभई विभिन्न जातजातिको साझा आस्थाको केन्द्र पनि बनेको छ । यहाँ लाग्ने मेलामा राजवंशी, धिमाल, पहाडी समुदायसहित विभिन्न जातजातिका मानिसहरू एकै ठाउँमा भेला हुने गरेका छन्, जसले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश पनि प्रवाह गर्दछ ।























