उर्लाबारी । उर्लाबारी नगरपालिका–२ पछिल्लो समय विकास निर्माणका हिसाबले नगरकै सक्रिय वडामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ ।
वडाध्यक्ष राजनकुमार कँडेलको नेतृत्वमा पूर्वाधार, सामाजिक विकास, कृषि, यातायात तथा जनसुविधासँग सम्बन्धित योजनाहरू एकपछि अर्को सम्पन्न भइरहेका छन् । स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारबाट बजेट व्यवस्थापन गर्दै वडामा ठूला योजना भित्र्याउने अभियानलाई निरन्तरता दिइएको छ । वडाध्यक्ष कँडेलले विकासलाई सडक, पुल र भवन निर्माणमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवन सहज बनाउने, सामाजिक सेवाको पहुँच विस्तार गर्ने तथा दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै काम गरिरहनु भएको छ । यही कारण वडा नं. २ मा पछिल्ला वर्षहरूमा विकासको गति उल्लेखनीय रूपमा बढेको स्थानीयवासी बताउँछन् ।
यसैक्रममा वडा नं. २ स्थित देवझोडा (तेली खोला) माथि निर्माण गरिएको बक्स पुल सञ्चालनमा आएको छ । लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको पुलले धानखेती, मंगलबारेलगायत आसपासका बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याएको छ । पुल सञ्चालनमा आएपछि वर्षायाममा हुने जोखिम कम हुनुका साथै विद्यार्थी, किसान, सर्वसाधारण तथा सवारीसाधनको आवतजावत सहज भएको छ । कृषि उत्पादन बजारसम्म पु¥याउन सहज हुने, स्थानीय यातायात सेवा विस्तार हुने तथा विकास निर्माणका गतिविधि थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । त्यसैगरी वडा नं. २ अन्तर्गत त्रिवेणी चोक–बाँसेचौरी खण्डको सुनझोडा–तेली खोला बक्स पुल पनि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पूजाअर्चनापछि नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल र वडाध्यक्ष राजनकुमार कँडेलले संयुक्त रूपमा पुल उद्घाटन गर्नुभएको थियो ।
यस पुलले सुनझोडा क्षेत्रका ठूलो भूभागका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको सास्तीको अन्त्य गरेको छ । पुल अभावका कारण वर्षायाममा आवतजावत नै ठप्प हुने अवस्था
थियो । स्थानीय बासिन्दामात्र नभई प्रसिद्ध पर्यटकीय गन्तव्य बाँसेचौरी जाने पर्यटकहरूले समेत निकै कठिनाइ झेल्नुपर्ने अवस्था अब हटेको छ । इन्जिनियरिङ मापदण्डअनुसार वर्षायाममा आउने उच्च पानीको बहावलाई ध्यानमा राखेर निर्माण गरिएको बक्स पुलले दीर्घकालीन रूपमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएसँगै उर्लाबारीबाट पथरीशनिश्चरे तर्फको यात्रा समेत सहज बनेको छ । यी दुई पुल त वडा नं. २ मा सम्पन्न भएका योजनाका केही उदाहरण मात्र हुन् । पछिल्ला वर्षहरूमा सडक स्तरोन्नति, खानेपानी, कृषि पूर्वाधार, सामुदायिक भवन, शिक्षा तथा सामाजिक विकासका विभिन्न योजनाहरू पनि निरन्तर अघि बढाइएका छन् । वडावासीलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्ने र समयमै कार्यान्वयन गर्ने नीति अपनाइएकाले विकासको
परिणाम देखिन थालेको स्थानीयहरूको भनाइ छ । वडाध्यक्ष कँडेलले स्थानीय तहको सीमित स्रोतमा मात्र निर्भर नभई प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर आवश्यक बजेट ल्याउने प्रयासलाई निरन्तरता दिँदै आउनुभएको छ । त्यसको प्रतिफलस्वरूप वडा नं. २ मा ठूला पूर्वाधार योजनाहरू क्रमशः कार्यान्वयनमा आएका छन् । स्थानीयका अनुसार विगतमा सामान्य पूर्वाधारका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहेकामा अहिले योजनाहरू समयमै सम्पन्न हुन थालेका छन् । सडक र पुल निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई पनि समान प्राथमिकतामा राखिएकाले वडा क्रमशः नमूना वडाका रूपमा विकसित हुँदै गएको उनीहरूको विश्वास छ ।
























