उर्लाबारी, फाल्गुनन्द जयन्तीको अवसरमा मंगलबार उर्लाबारी–३ मंगलबारेमा भव्य मोटरसाइकल र्याली आयोजना गरिएको छ। ‘बिराट मेडिकल कलेज टिचिङ हस्पिटल प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ को प्रचार–प्रसार स्वरूप सो र्याली निकालिएको हो।
र्याली बिहान ११ बजे मंगलबारे चोकबाट सुरु भई केरखाली चोक, सिरुझार स्कुल, सुनझोडा माध्यमिक विद्यालय, शान्ति आधारभूत विद्यालय हुँदै प्रस्तावित सालबारी रंगशाला र महेन्द्र राजमार्ग भएर पुनः मंगलबारे चोकमै आएर सम्पन्न भएको थियो।
र्यालीमा आयोजकद्वय मंगलबारे क्रस कन्ट्री क्लब र भेट्रान क्लब मंगलबारेका पदाधिकारी, धावक, वडा अध्यक्ष भिष्मराज बुढाथोकी, स्थानीय व्यापारी, अस्थायी प्रहरी चौकी मंगलबारेका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
आगामी शनिबार हुने क्रस कन्ट्री रनमा खुला तर्फ ११ किलोमिटर, भेट्रान तथा बालबालिका तर्फ ५ किलोमिटर दूरीको दौड आयोजना हुनेछ।
क्लबका अध्यक्ष राईका अनुसार, प्रतियोगिता आयोजना गर्नुको उद्देश्य युवाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै खेलकुदप्रतिको रुचि र प्रेरणा जगाउने हो।
प्रतियोगितामा ३५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको छ।
सहभागीका लागि टी–सर्ट, खाजा, जुस र पानीको व्यवस्था गरिएको छ भने टाढाबाट आउने खेलाडीका लागि खाद्यान्न र आवासको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।























